महरा लाई अर्को झड्का : महरा बिरुद्ध रोशनिले प्रहरीमा किटानी जाहेरी दिईन

प्रकाशित मिति:

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उजुरी दर्ता भएको छ । पीडित महिला रोशनी शाहीले शुक्रबार महराविरुद्ध किटानी जाहेरी दिएपछि उजुरी दर्ता भएको हो । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको छ । यदि उनले जबरजस्ती करणी गरेको पुष्टि भएमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना हुनेछ । आइतबार बेलुका महराले जबरजस्ती करणी गरेको समाचार विभिन्न सन्चार माध्यममा प्रकाशित भएको थियो ।यौन दूराचारको आरोप लागेपछि सोमबार घटनाको अनुसन्धानमा सहज होस् भन्‍ने हेतुले आफूले राजीनामा दिएको महराले बताएका थिए ।

तर, सोमबार बेलुका रोशनीले फेरि एक अर्को अनलाइनलाई महरा आफ्नो बाबु समान भएको र आफ्नो कोठामा नआएको बताएकी थिइन् । सीसीटिभी क्यामेराको फुटेजमा महरा रोशनी बस्ने घरमा गएको देखिएको छ।घटना भएकै आइतबार राति नै पीडित महिलाले महराले बलात्कार गरेको भन्दै प्रहरीमा खबरसमेत गरेकी थिइन् । खबरलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा महरा भने त्यहाँ थिएनन् । प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको बताइएको छ । अनुसन्धान गर्न चौतर्फी दबाब बढेपछि शुक्रबार गृहमन्त्री थापाले आईजीपीसहितको बैठक बोलाएका थिए । आईजीपीसहितको बैठकमा गृहमन्त्रीसहित आईजीपी सर्वेन्द्र खनाल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्री, परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र वृत्त नयाँ बानेश्वरका डीएसपी दुर्गाराज रेग्मी उपस्थित थिए ।