शाहवंशको कूल मन्दिर आलमदेवी : जहां नवमीका दिन वर्षभरिकै ठूलो पूजा र सरकारी पञ्चबली चढाईयो

प्रकाशित मिति:

सबलपोष्ट । नेपालका शक्तिपठिहरुमध्ये बेग्लै विशेषता र पहिचान बोकेको स्यांङजाको आलमदेवी मन्दिरमा बडा दशैंको नवमीका दिन वर्षभरिकै सबैभन्दा ठूलो विशेष पूजा र सरकारी पञ्चबलि चढाउने प्रचलन छ । त्यही प्रचलन अन्र्तगत आज सरकारी पञ्चबलि चढाईएको छ । वि.सं. १३५० सालमा स्थापना भएको यो मन्दिर शाह वंशको कूल देवता र कूल मन्दिर मानिंदै आएको छ । साविकको आलमदेवी गाविस ६ हाल कालिगण्डकी गाउपालिका वडा नंं ३ लसर्घाको टाकुरामा रहेको यो मन्दिरमा नवमीका दिन बिहानै डेढ घण्टा लामो यज्ञ र नव दुर्गाको पूजापछि पञ्चबली गरिन्छ । आजैका दिन महिषासुरलाई देवीले बध गरेको दिन मानिएकाले नवदुर्गाको पूजा र यज्ञपछि ठूलो रांगोसहित सरकारी पञ्चबली दिइन्छ । मन्दिर व्यवस्थापन समितिका सदस्य दीपक घिलेका अनुसार आलमदेवीमा रांगो,बाख्राको पाठो,कुखुरा, परेवा र भेंडा बली चढाउने परम्परा छ । भेंडा उपलब्ध नहुंदा कुभिण्डो प्रयोग गरिन्छ । नवमी दिन आज करिब १० हजार भक्तजनहरु आएको  घिलेले बताए । दर्शनार्थीको भीड लाग्ने भएकाले नवमीका दिन दिउंसो अबेरसम्म पूजा र बली चढान्छ ।

पञ्चबली चढाउन सरकारी निकायबाट बजेट व्यवस्था हुंदै आएको छ । धेरै वर्षपहिला शाह वंशीय राजाहरुले रांगो छोडिदिने र त्यो रांगो आफै आलमदेवी आइपुग्ने र स्थानीयले बली चढाउने गरेको इतिहास रहेको बताइन्छ । तर पछि रांगो छोड्न छाडेर गुठी संस्थानमार्फत वजेट दिएर पञ्चबली चढाउने परम्परा शुरु भएको हो । नवमीका दिन आलमदेवीमा बली चढाउनेको निकै भीडभाड हुने गर्छ । सरकारी पञ्चबली पछि मात्र मन्दिर भक्तजनका लागि खुला गरिने र सर्वसाधारणले ल्याएका पशुपंक्षीको बली दिने गरिन्छ । जीवनमा ठूलो संकट आइलागेपछि वा आउने संभावना देखेपछि यहां आएर आलमदेवीसंग वर मागेपछि संकट मोचन हुने जनविश्वास रहिआएको छ । भारतको चितौरगढका चन्द्र वंशावली भट्टारक राजा ऋषि राणाजीको राज्यमा मुगलले आक्रमण गरेपछि पुर्व तिर गए कूल र सन्तान सुरक्षित हुन्छन् भन्ने सल्लाहका आधारमा राजपरिवार पश्चिम नेपाल हुंदै स्यांजाको आलमदेवीमा आएका किम्वदन्ती रहेको छ । सोही डांडोमा मन्दिर बनाई उनीहरुले मुर्ति राखेका र पछि उक्त मुर्ति अलाप भएको हुंदा कालान्तरमा आलमदेवी नामाकरण भएको मानिन्छ ।

भारतीय ऋषि राणाका छोराहरु मिन्चा खांण र खान्चा खाणमध्ये एकजनाले स्यांजाको नुवाकोटमा र अर्काले कास्कीकोट,तनहुं हुंदै गोर्खासम्म राजा भएर राज्य गरेका र तिनै खांण लाई पछी भारतका वादशाहले शाह उपाधी दीएपछी शाह लेखाउन थालेको किंवदन्ती छ । हालको नेपालको शाह वंश तिनै चितौरगढका चन्द्र वंशावली राजाका सन्तान भएको स्थानीय वुद्धीजीवीको भनाई छ । आलमदेवी मन्दिरको विशेषता मध्ये यो मन्दिरको फेंदलाई संसारकै पवित्र मानिने कालिगण्डकी नदीले चारैतिरबाट घरेको छ भने मन्दिरमा छाना छैन । बेलाबेलामा मन्दिरभित्रबाट ज्वाला निस्कने भएकाले मन्दिरमा छाना नराखिएको दावी छ । यो मन्दिरलाई ज्वालामाई देवीको मन्दिरका रुपमा पनि चित्रण गरिन्छ । अर्को कुरा यो मन्दिरमा मुर्ति छैन, मुर्ति रहने ठाउंमा भिमसेन पाती नामको मझौला रुख छ । यो रुख सय वर्ष भन्दा अगाडिंदेखि जस्ताको त्यस्तै रहेको स्थानीय बताउंछन् । यो मन्दिरमा कुमार राना मगर जातका चुडाकर्म गरेका १५ वर्षमुनिका किशोर मात्रै पुजारी बन्न पाउंछन् । उनीहरुले कालीगण्डकी नदीमै नुहाएर आएर मात्र पुजा गर्छन् । मन्दिर पुग्न जुनसुकै दिशाबाट जांदा पनि उकालो चढ्नैपर्छ । मन्दिरमा ३६५ दिन नै पुजा हुने र पूजा हुंदा नगरा बनाउने परम्परा छ । एकादशी,औंशी,साउन १देखि नागपंचमी र १६ श्राद्धमा वाहेक अरु सबै दिन यहां बली चढ्छ । मन्दिर भित्र महिलाको हकमा ठकुरी जातका महिला मात्र जान पाउंछन् । यहां वर माग्न,भाकल गर्न र पूजा गर्न नेपालका अधिकांश जिल्लाका साथै भारतबाट समेत भक्तजन र दर्शनार्थीहरु आउने गर्छन् । विशेषगरी ठकुरी वंश, सेना, प्रहरीका जागिरेहरुको यो मन्दिरप्रति अगाध आस्था र विश्वास रहेको छ । यहां चैते दशैं, र न्वागीमा पनि विशेष पूजा र सांस्कृतिक कार्यक्रमहरु हुने गर्छन् । यो मन्दिर दर्शन गर्न बेलाबेलामा पुर्व राजपरिवारका सदस्यहरु जाने गर्छन् ।