स्वास्थ्यका लागि जमराका विविध फाइदा

प्रकाशित मिति:

रिया भण्डारी –घटस्थापनामा राखिएको जमरा दशैँको टीकामा लगाउनुबाहेक खान पनि स्वास्थ्यको दृष्टिकोणले फाइदा हुने अध्ययनहरुले देखाएको छ । नेपालमा दशैँमा टीका लगाउने बेला प्रयोग गरिने जमरा अन्य देशमा खानामा सलादको रुपमा, जूसको रुपमा पनि प्रयोग गर्ने गरेको पाइन्छ । वैज्ञानिकहरूले जमरालाई क्यान्सर रोग उपचारको लागि प्रभावकारी औषधि बताउँदै आएका छन् ।विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् । घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो । अन्य राष्ट्रका हिन्दूहरूमा यो परम्परा पाइँदैन । जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित मात्र गर्दैन स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ ।

जमराको रस नियमित सेवन गर्दा क्यान्सर, रक्तअल्पता, चिनीरोगलगायत विभिन्न समस्यामा राहत मिल्ने बिशेषज्ञको भनाइ छ । जमरामा पोलिफिनोल नामक सक्रिय तत्व पाइन्छ । उक्त तत्वले शरीरका विशेष प्रकारका प्रोटिनहरूको कामलाई बढाई इन्सुलिन निष्कासन गराउन सहयोग गर्ने काम गर्छ । यसले रगतमा रहेको ग्लुकोजलाई एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने र ग्लुकोजलाई टुक्र्याउन पनि सहयोग गर्छ । जसले गर्दा रगतमा चिनीको मात्रा कम गर्ने अध्ययनबाट देखिएको छ । यसै गरी जमरामा भिटामिन ए, के, सी, ईका साथै थायमिन, कोलिन, लौहतत्व लगायत विभिन्न खनिज तत्व र एमिनो एसिड पाइन्छ । जमरालाइ आयुर्वेदले पनि रोग निरोधक मानेको छ ।कोलेस्टोरेल नियन्त्रक तत्व पनि जमरामा हुन्छ । क्यालिफोर्नियास्थित ला जोला विश्वविद्यालयले जमरामा पिफोर डी वान भन्ने तत्व हुने पत्ता लगायो । यसले शरीरलाई फुल्न र सुजन हुनबाट जोगानुका साथै डिएनएको संरक्षण गर्छ । जसले गर्दा कोषिकाको आयु लम्बिन्छ र बुढौली ढिला हुन्छ त्यसकारण दशैँमा टिका लगाउँदा मात्र जमरा प्रयोग नगरेर अरुबेला पनि जमराको रस बनाएर खाए स्वास्थ्यको दृष्टिकोण ले अत्यन्त फाइदाजनक हुन्छ । साभार :News24