बलात्कारको घटना र सजायको व्यवस्था

प्रकाशित मिति:

सबल डेस्क
पछिल्लो समय बढ्दै गएको बलात्कारको घटनालाई कम गर्न धेरै तिर मृत्युदण्ड या त्यही हदसम्मको बलियो कानुनको चर्चा शुरु भएको छ । यसका सन्दर्भमा बिभिन्न मानव अधिकारबादी संघ संस्थाहरुले मृत्युदण्डको सजायलाई उपयुक्त नमाने पनि संसदमा समेत त्यो खालको बहस शुरु हुनुले त्यसले कानुनमा कुनै न कुनै खालको परिवर्तन ल्याउने निश्चित जस्तै छ । त्यसो त गत भदौ १ देखी लागु गरिएको परिमार्जित नयाँ मुलुकी ऐनमा यसका सवालमा धेरै कुराहरु बोलेको समेत छ । यस ऐनमा १५ बर्ष भन्दा कम उमेरका बालिकासागको सम्पर्कलाई सहमतिमै भए पनि बलात्कार मानेको छ , त्यस भन्दा माथिको सम्पर्कलाई पनि त्रास, धम्कीका आधारमा गरिएको सहमतिलाई सहमति नमान्ने व्यवस्था छ । अगाडि भन्दा यौन सम्बन्धको परिभाषा र बलात्कार कुन कुन हद सम्म ठहर्ने सम्मको परिवर्तित व्यवस्था छ । यो व्यवस्थामा लोग्ने, स्वास्नीको सम्बन्धमा समेत सहमति हुन नसकेको अवस्था बलात्कार ठहर्ने भनिएको छ । बलात्कारका घटनामा हदै सम्मको बलियो कानुन बनाउनु पर्ने माग सबै तिर उठिरहेको बेला कानुनमा केही परिमार्जन हुन्छ की हेर्न बाँकी छ तर अन्य देशमा भने यस्तो छ सजाय को व्यवस्था ।
के छ बिभिन्न देशमा यसको अभ्यास ?
छिमेकी मुलुक भारतमा बलात्कारको घटनामा घटनाको प्रकृति हेरेर सजायको व्यवस्था गरिएको छ । भ्रखरै संसोधित बिधान अनुसार भारतमा बालिका बलात्कारको घटनामा मृत्युदण्डको व्यवस्था भएको छ भने अन्यमा आजीवन कारावास सम्मको सजायको व्यवस्था छ । अर्को छिमेकी मुलुक चीनमा पनि बलात्कारमा मृत्युदण्डको व्यवस्था छ । त्यसो त चीनको सजाय व्यवस्थामा अदालतले घटनालाई सामान्य ठहराएमा दोषीलाइ बन्ध्याकरण गर्ने व्यवस्था समेत छ । यस मुद्धामा कठोर व्यवस्था भएको साउदी अरबमा बलात्कारीलाई प्रमाणित भएकै दिन कोर्रा सहित घाँटी छिनाएर हत्या गरिने प्रावधान छ । त्यस्तै बलात्कारका दोषीलाई इजिप्ट र इरानमा झुण्डाएर हत्या गर्ने गरिन्छ । घटनाको प्रकृति हेरेर इजरायलमा १६ बर्ष देखी आजीवन कारावास सम्मको सजाय छ भने फ्रान्समा १५ देखी ३० बर्ष तथा थप आजीवन काराबासको सजायको व्यवस्था छ । उत्तर कोरियामा बलात्कारका दोषीलाई गोली हानी हत्या गरिन्छ , त्यस्तै अफगानिस्तानमा पनि गोली हान्ने तथा झुण्डाएर दोषीलाई दण्ड दिइन्छ । बलात्कारका घटनाका दोषीलाई अमेरिकामा आजीवन कारावास सम्मको सजाय छ भने रसियामा ३ देखी २० बर्ष ,त्यस्तै नर्वेमा ४ देखी १५ को जेल सजायको व्यवस्था छ । पाकिस्तानमा बलात्कारको घटनामा २५ बर्ष सम्म जेल तथा प्रकृतिका आधारमा मृत्युदण्ड सम्मको व्यवस्था छ । त्यस्तै इण्डोनेसियामा पनि कारावास तथा मृत्युदण्ड सम्म गरिन्छ ।