एनआरएनए जापानमा विवाद, अध्यक्षको नामावली कार्यसमितिको बहुमतद्धारा खारेज

प्रकाशित मिति:

जापान। एनआरएनए जापानमा केन्द्रीय प्रतिनिधिको नामको बिषयलाई लिएर विवाद भएको छ। एनआरएनए जापानबाट आईसीसी विधान अन्तर्गत १३८ जना प्रतिनिधि छनोट हुन पाउँछन् । यसअगाडि कार्यसमितीको सर्वसम्मत निर्णयले १०० जनाको नाम पारित गरी ३८ जनाको नाम प्राप्त शुल्क जसको पहिला आउँछ उसको नाम राख्ने गरी निर्णय भएको थियो। तर त्यो नाम पनि कसको पहिला रकम आएको थाहा भएन भनेर बैङ्कले नाम दिन समय लाग्ने बहाना बनाइ प्राविधिक कारण ढिला हुन गयो भनेर आम जापानबासी र कार्यसमितिलाई समेत झुक्याइएको आरोप अध्यक्षमाथि लागेको छ। ७ तारिख मध्यरातमा एकाएक एनआरएनए जापानको आधिकारीक पेजबाट कार्यसमितिमा छलफल नै नगरी १६६ जनाको नाम सार्वजनिक गरेपछि सबै अचम्ममा परेको बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ्ग लामाले जानकारी दिइन।

एनआरएनए जापानको आधिकारीक पेज कार्यसमिति अध्यक्ष देवीलाल भन्डारी, उपाध्यक्ष नारायण खड्का र महासचिब जनक बिक्रम शाही ३ जनाले मात्र चलाउने गरेको र त्यो १६६ जनाको नाम पनि तिनै तीन जनाले सार्वजनिक गरेको आरोप वहुमत कार्यमसितिका पदाधिकारीहरु तथा सदस्यहरुको छ। नामावली टुङगो लगाउने कार्य कार्यसमितीमा कसैलाई थाहा नभएको, सार्वजनिक गरिएका नामावलीमा अधिकांश आईसीसी विधानको कुनै अंशले नछोएको, पूर्व कार्यसमिति, निवर्तमान कार्यसमिति, क्षेत्रिय समिति लगायत एनआरएनए जापानभित्र विभिन्न समितिमा काम गरेकाहरुको नाम काटिएकोमा वहुमतले आपत्ती जनाएको छ। तानाशाही शैलीमा तीन जना अगाडि बढेको भन्दै बरिष्ठ उपाध्यक्ष अनिता गुरुङको अध्यक्षतामा ८ तारिखमा बसेको बैठकले उक्त तीन जनाले निकालेको १६६ जनाको नामावली खारेज गर्दै आईसीसीमा निवदन दिएको छ।