भीष्मलाई वाणशय्यामा देखेर किन हाँसिन् द्रौपदी ?

प्रकाशित मिति:

काठमाडौं-महाभारतको कथा धेरै रोचक छ । पढ्दै जाँदा धेरै रहस्यमय कुराहरू यसमा भेट्दै गइन्छ ।कौरव र पाण्डवहरूका बीचको कलहका कारण महाभारतको भीषण युद्ध भयो जसमा कौरव सेनालाई पाण्डवहरूले हराए ।महाभारतमा अनेकौं रहस्यमय कथाहरू छन् । यस्तै एउटा कथा यहाँ हामी बताउँछौं ।महाभारतको युद्ध अन्तिम चरणमा पुगेको थियो । अम्बाले भीष्मको मृत्युको कारण बन्छु भनी गरेको प्रतिज्ञा पूरा गर्न शिखण्डीको रूपमा पुनर्जन्म लिएर अर्जुनलाई मद्दत गरेको अवस्था थियो ।अर्जुनका वाणहरूले भीष्मको शरीरलाई चाल्नो बनाइदिएका थिए । तर उनलाई इच्छामृत्युको वरदान प्राप्त भएकाले यमराजले पनि प्राण हर्न सक्दैनथिए ।

वाणको शय्यामा पल्छिएर उनी महाभारतको युद्धको परिणाम प्रतीक्षा गरिरहेका थिए ।युद्धको नियमअनुसार सूर्यास्तपछि युद्ध रोकिन्थ्यो र सबै योद्धाहरू भीष्मको शय्यानजिक भेला हुन्थे ।भीष्मले उनीहरूलाई प्रवचन दिन्थे । एकदिन यसैगरी भीष्मले प्रवचन दिँदै गर्दा गम्भीर वातावरणका बीच द्रौपदी अचानक हाँस्न थालिन् ।द्रौपदी हाँसेको देखेर भीष्मलाई रिस उठ्यो र किन हाँसेकी भनी सोधे ।जवाफमा द्रौपदीले संवेदनालाई हल्लाउने कुरा भनिन् ।

उनले भीष्मलाई कौरवहरूको दरबारमा आफूमाथि गरिएको अमानवीय दुर्व्यवहारका बारेमा सम्झाइन् । भीष्म पितामह त्यसका साक्षी थिए तर विरोध गर्न सकेनन् भनी द्रौपदीले बताइन् ।द्रौपदीको मनमा गढेको त्यो क्षोभ नै व्यंग्यात्मक हाँसोका रूपमा बाहिर निस्कियो ।भीष्मले स्पष्टीकरण दिँदै भने, ‘त्यतिखेर म कौरवहरूले दिएको अन्न खाएर बसेको थिएँ र जसको अन्न खाइन्छ, उसको विरोध गर्नु सही हुँदैनथियो । धृतराष्ट्र र दुर्योधन जस्ता अधर्मीहरूको अन्नले मेरो जिभ्रो बाँधिएको थियो, त्यसैले म विरोध गर्न असमर्थ थिएँ । अहिले अर्जुनका वाणहरूले त्यो दूषित अन्नले बनेको रगत बगेर गइसक्यो र म प्रवचन गर्न योग्य भएको छु ।’यो सुनेपछि द्रौपदीले भीष्मसँग माफी मागिन् र उनले माफ पनि गरिदिए ।