कर्मचारीको दरबन्दी बढाइदिन संघीय सरकारसंग प्रदेश ५ सरकारको माग

प्रकाशित मिति:

प्रदेश ५ सरकारले कर्मचारीको दरबन्दी बढाइदिन संघीय सरकारसंग माग गरेको छ । प्रदेश मन्त्रिपरिषदको सोमबार सम्पन्न वैठकले प्रदेश सरकारका ६ वटै मन्त्रालयमा हाल केन्द्र सरकारले तोकेको दरबन्दी अपुग रहेको ठहरसहित बढाउन माग गर्ने निर्णय भएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए । हाल केन्द्रले २७ सय १४ जना कर्मचारीको दरबन्दी तोकेको छ भने प्रदेश सरकारले ३१ सय ५७ जना माग गर्ने निर्णय गरेको हो । केन्द्र सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई ५२ जना तोकेकामा प्रदेश मन्त्रिपरिषदले यसमा भने बढाउन मागेको छैन ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा ३८ जनाबाट बढाएर ५२ जना, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ६७ जनाबाट ७७ जना, भौतिक पूर्वाधार विकास मन्त्रालयमा ६ सय ७ जनाबाट ७ सय ८ जना कर्मचारी र्पुयाउन प्रदेश सरकारले माग गरेको छ ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा १२ सय ३८ जनाबाट १३ सय ५७ जना, सामाजिक विकास मन्त्रालयमा २ सय ३३ जनाबाट ३ सय ८५ जना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ४ सय ४३ जनाबाट ४ सय ६१ जना कर्मचारी दरबन्दी र्पुयाउन प्रदेश सरकारले माग गरेको छ ।यस्तै मन्त्रिपरिषद बैठकले प्रदेश योजना आयोगका सदस्यमा अर्घाखाँचीकी पुष्पा भुसाल लुइँटेललाई नियुक्त गर्ने निर्णय गरेको छ । कृषि र समाज शास्त्रमा स्नातकोत्तर भुसाल कृषि विज्ञ हुन् ।योजना आयोगमा यसअघि उपाध्यक्षमा अर्घाखाँचीकै डा. प्रकाशकुमार श्रेष्ठ र सदस्यमा गुल्मीका इन्जिनियर विष्णु गौतम नियुक्त भइसकेका छन् । एकजना महिला सदस्य अनिवार्य राख्नुपर्ने प्रावधान छ ।मन्त्रिपरिषद वैठकले विभिन्न चारवटा मन्त्रालय अन्तर्गतका निर्देशनालय र डिभिजन कार्यालयहरु स्थापना गर्ने निर्णय पनि गरेको छ । तर आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा भने निर्देशनालय स्थापनाको निर्णय भएको छैन ।