यी हुन् हिन्दु धर्मका प्रमुख विशेषता 

प्रकाशित मिति:

काठमाडौँ -हिन्दु धर्मको मूल रूप सनातन धर्म वा वैदिक धर्म हो । वैदिक कालमा भारतवर्षको धर्म सनातन भनी उल्लेख गरिएको पाइन्छ । सनातनको अर्थ हुन्छ शाश्वत वा सधैं कायम हुने । जसको न आदि छ, न अन्त त्यसलाई सनातन भनिन्छ ।हिन्दु धर्म कति वर्षअघिदेखि प्रचलित थियो भन्ने प्रश्न गर्नु नै बेकार हो किनकि सभ्यताको शुरूवातदेखि नै यो अभ्यासमा थियो । सिन्धु सभ्यतामा हिन्दु धर्मका धेरै चिह्न भेटिन्थे । अज्ञात मातृदेवीका मूर्तिहरू, शिव पशुपति जस्ता देवताका मुद्राहरू, लिंग, पीपलपूजा लगायतका कुरा त्यतिखेर हुने गर्थे ।

प्राचीनकालमा भारतीय सनातन धर्ममा गाणपत्य, शैव, वैष्णव, शाक्त र सौर गरी पाँच सम्प्रदाय विद्यमान थिए । तर मान्यता चाहिँ के थियो भने यी सबै एउटै सत्यका व्याख्या हुन् एकं सद् विप्राः बहुधा वदन्ति । प्राचीनतम ग्रन्थ वेददेखि लिएर रामायण र महाभारतजस्ता लोकप्रिय धर्मग्रन्थमा समेत यही कुरा बताइएको छ ।सनातन धर्मका ग्रन्थहरू देववाणी संस्कृतमा रचिएका हुन् । संस्कृतको ह्रास भएसँगै सनातन धर्ममा आक्रमण हुँदै गयो तर अहिले आएर यो धर्म झन् बलियो हुँदै गइरहेको छ ।हिन्दु धर्ममा कुनै एक सिद्धान्तको निरंकुशता छैन । धर्मभन्दा पनि महत्वपूर्ण त जीवन जिउने मार्ग हो यो । हिन्दुहरूको कुनै केन्द्रीय सत्ता वा धर्मगुरु छैन जसको आदेश मान्नैपरोस् । यहाँ त अनेकौं मत र सम्प्रदाय छन् र सबैलाई उत्तिकै श्रद्धा गरिन्छ ।

गोषु भक्तिर्भवेद्यस्य प्रणवे च दृढा मतिः ।
पुनर्जन्मनि विश्वासः स वै हिन्दुरिति स्मृतः ।।
अर्थात्, गोमातामा जसको भक्ति छ, प्रणव ओंकार जसको पूज्य मन्त्र हो, पुनर्जन्ममा जो विश्वास गर्छ, ऊ नै हिन्दु हो ।हिन्दु शब्द मूलतः फारसी हो । भारतवर्षका प्राचीन ग्रन्थहरू वेद र पुराणमा वर्णित भारतवर्षको सीमाभित्र बस्ने मानिस हिन्दु हुन् । वेदप्रतिपादित रीतिबाट हिन्दु धर्ममा विश्वास गर्ने मानिस नै हिन्दु हो ।