त्रिभुवन विमानस्थलमा यात्रीलाई मात्र प्रवेश अनुमति ,एक्लै जान असक्षम यात्रुले एक जना लैजान पाउने

प्रकाशित मिति:

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास बिमस्टेक को चौथो शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाको आवागमन र सुरक्षालाई मध्यनजर राख्दै त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । आजैदेखि लागू हुने गरी यो अनुरोध गरिएको छ ।

विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त तथा साथीभाई लिएर नआउन विमानस्थल प्रशासनले अनुरोध गरेको छ ।

विमानस्थलस्थित नेपाल प्रहरीका डिआइजी कमल जिटीका अनुसार बच्चा, गर्भवती र असक्तले मात्रै सहयोगी लिएर जान सक्नेछन् ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीद्वारा मंगलबार हस्ताक्षरित विज्ञप्तिमा विमानस्थलमा एक्लै जान असक्षम रहेका यात्रुले एकजनासम्म सहयेगी मात्र भित्र लिएर जान सक्ने जनाइएको छ ।

विमानस्थलमा प्रवेश गर्ने यात्रुको गोल्डेन गेटमै कडा सुरक्षा जाँच गरिनेछ । अत्यावश्यक कारणले भित्र प्रवेश गरेका व्यक्तिले पनि १०\ १५ मिनेटभित्रै विमानस्थल छोड्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै यात्रु लिएर गएका ट्याक्सीलाई पनि विमानस्थलको गोल्डेन गेटभित्र प्रवेश गर्न दिइने छैन भने नीजि सवारी लिएर जानेले ५ देखि १० मिनेटभित्र यात्रु छाडेर सिधै फर्किनुपर्नेछ ।