चीन–नेपाल–भारत जोड्ने सबैभन्दा छोटो नाका ओझेलमा

प्रकाशित मिति:

कैलाश लामा/चरिकोट – चीनसँगको व्यापारिक सम्बन्ध तथा उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो र सुरक्षित लामाबगर नाका खोल्ने काम अझै ओझेलमा परेको छ । शनिबार काठमाडौँ आउनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई भूपरिवेष्ठितबाट भूजडित देश बन्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएसँगै वर्षौंदेखि अलपत्र परेको नेपाल–चीन जोड्ने सबैभन्दा पुरानो लामाबगर नाका खुलाउन सरकारले पहल गर्नुपर्नेभएको छ । दोलखाको बिगु गाउँपालिका–१ स्थित लामाबगर नाका खुलाउन बर्सेनि न्यून बजेट र स–साना टुक्रे ठेक्का लगाएर काम गरेजस्तो देखिए पनि यो नाका खुलाउन हालसम्म सरकार गम्भीर हुन सकेको थिएन । २०२२ सालसम्म पैदल आउजाउ गर्ने मार्गका रूपमा निकै चल्तीको लामाबगर नाका सिन्धुपाल्चोकको तातोपानी नाकाभन्दा पनि पुरानो र चीन–भारत जोड्ने छोटो र भरपर्दो नाका रहेको बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का बताउनुहुन्छ ।

चीनसँगको व्यापारिक सम्बन्ध तथा उत्तर–दक्षिण जोड्ने लामाबगर नाका सबैभन्दा छोटोसमेत हुने उल्लेख गर्दै उहाँले तिब्बतसँग जोडिएको नेपालको पुरानो लामाबगर नाका खुलाउन जरुरी रहेको बताउनुभयो । तातोपानी नाकाभन्दा दोलखाको लामाबगर नाका करिब ७१ किलोमिटर नजिक रहेको बताइन्छ । भूगोलको दृष्टिले पनि हाल सञ्चालनमा रहेको केरुङ र तातोपानी नाकाभन्दा लामाबगर नाकाको सडक सुरक्षित रहेको प्राविधिकहरू बताउँछन् । तिब्बतको ङ्याङ्लुङदेखि काठमाडौँसम्म करिब दुई सय किलोमिटर रहेको छ भने भारतको सिमाना भिट्टामोडसम्म पुग्न करिब २५० किलोमिटर दूरी रहेको बताइएको छ । नेपालको लामाबगरदेखि तिब्बतको सिमाना ङ्याङ्लुङमा पुग्ने करिब आठ किलोमिटरको दूरीबाहेक सबै सडक निर्माण भई सुचारु भइसकेकाले पनि यो नाका खुलाउन धेरै आर्थिक भार नपर्ने बताइन्छ । दुई वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको अध्ययनले नाका खुलाउन करिब डेढ अर्ब लाग्ने प्रारम्भिक अनुमान गरेको थियो ।

दोलखाको सदरमुकाम चरिकोटबाट सिँगटी हुँदै लामाबगरको बाँधस्थलसम्म माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सडक निर्माण गरिसकेको छ । त्यहाँबाट तिब्बत र नेपालको सिमाना ङ्याङ्लुङसम्म पुग्न अब करिब आठ किलोमिटर मात्र सडक निर्माण गरे पुग्छ । सडक विभागले सिमानासम्म पुग्ने सडक निर्माणका लागि हरेक वर्ष दुई करोड रुपियाँका दरले बजेट विनियोजन गरे पनि कठिन भीरका कारण काम हुन नसकी रकम फ्रिज भइरहेको छ । हाल तामाकोसी बाँधभन्दा केही पर एक किलोमिटर सडकको ट्र्याक खुलिसकेको र बाँकी सडकका टेन्डर खुल्न लागेको समाचार पनि बाहिर आएको छ । त्यसैले सरकारबाट केही प्रयास भएमा यो नाका सञ्चालन गर्न कठिन छैन ।

सडक विभागका महानिर्देशक केशव शर्माले मन्त्रिपरिषद् बैठकमार्फत मोडालिटी टुङ्गिएपछि ठेक्का लाग्ने बताउनुभयो । हामीले माथिल्लो तामाकोसी आयोजनामै कार्यरत चिनियाँँ ठेकेदारमार्फत सुरुङको काम गराउने मोडालिटी अघि सारेका हौँ, उहाँले भन्नुभयो, बाटोका लागि एक किलोमिटर सुरुङ खन्नुपर्ने भएकाले त्यो तामाकोसी आयोजनामै भीओ (भ्यरियसन अर्डर) गरेर बनाउने वा सरकारबाटै बनाउनेमा कुरो मिल्न नसक्दा अघि बढ्न सकेको छैन । शर्माका अनुसार यो मार्ग महोत्तरीको भिट्टामोडदेखि बर्दिबास, खुर्कोट हुँदै रामेछाप सदरमुकाम मन्थली निस्केर दोलखाको नयाँ पुलबाट सिँगटी हुँदै लामाबगर र चीनको सीमासम्म हुने छ । त्यसका लागि दोलखाको नयाँ पुलदेखि सिँगटीसम्म नयाँ ट्र्याक बनाउनुपर्ने विभागले जनाएको छ । भारतीय नाकाबन्दीपछि सरकारले चीन सरकारसँग उत्तरका थप छवटा नाका खोल्न २०७२ असोज २७ गते गरेको समझदारीमा दोलखाको लामाबगर नाका पनि समावेश रहेको छ । सुरक्षित, छोटो र परम्परादेखि चल्तीमा रहेको लामाबगर नाका खोलेर चीन, नेपाल र भारतबीच त्रिदेशीय व्यापारलाई समेत सहज गर्न सकिने भएकाले सरकारले शीघ्र यो नाका सञ्चालनमा ल्याउन पहल गर्नुपर्छ । – गोरखापत्र