एनआरएनए सम्मेलनको लागि १५ सय प्रतिनिधि काठमाडौंमा

प्रकाशित मिति:

काठमाडौं – मंगलबारदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । एनआरएनएका महासचिव बद्री केसीले सोमबार पत्रकार सम्मेलन गरी ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनको तयारी करिब पूरा भएको जानकारी दिएका हुन् । महासचिव केसीका अनुसार विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु काठमाडौं ओर्लिसकेको जानकारी दिए । जसमध्ये १३ सय जनाले नामसमेत दर्ता गरिसकेका छन् ।

एनआरएनए प्रवक्ता भुवन घिमिरेका अनुसार प्रतिनिधिहरुको नामदर्ता सोमबार ३ बजेसम्म र वैकल्पिक प्रतिनिधिको साँझ ७ बजेसम्म नाम दर्ता गरिनेछ । दुई दिनसम्म होटल हायात रिजेन्सीमा आयोजना हुने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ । विभन्न १४ पदका लागि ४२ जना चुनिने छन् । मतदानको कार्यतालिका २९ गते छ ।

आगामी नेतृत्वका लागि हालसम्म जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन् । समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ । सम्मेलनमा प्रतिनिधिसहित नेपाल र ८१ राष्ट्रबाट २५ सय जनाको सहभागिता रहेने छ ।

यो पनि पढ्नुहोस् :-

एनआरएनएले गर्‍यो दोहोर्‍याएर पत्रकार सम्मेलन