पारसको राजीनामा स्वाभाविक, नयाँ कप्तानबारे आगामी बैठकमा छलफल : क्यान

प्रकाशित मिति:

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले पारस खड्काले कप्तान पदबाट दिएको राजीनामा स्वाभाविक भएको बताएका छन् । अध्यक्ष चन्दले टोलीमा खेलाडी आउने–जाने क्रम चलिरहने बताए ।

बाह्रखरीसँगको कुराकानीमा उनले भने, “राजीनामा स्वाभाविक हो । टोलीमा खेलाडी आउने–जाने क्रम चलेजस्तै हो । यसमा अचम्म मान्नुपर्ने केही छैन । यो एक प्रक्रिया हो ।” उनले राजीनामाबारे औपचारिक रुपमा जानकारी नआएको र मिडियाबाट नै थाहा पाएको बताए । “मैले पनि तपाईंहरुमार्फत् नै थाहा पाएको हुँ । औपचारिक जानकारी आएको छैन । पारसको आफ्नो निर्णय हो । उसले केही सोचेर नै निर्णय गरेको होला ।” आफू अध्यक्षमा निर्वाचित भएपछि कप्तान पारससँग संवाद नभएको उनले बताए । उनले यही साता बस्ने कार्यसमितिको बैठकमा नयाँ कप्तानबारे छलफल गर्ने जानकारी दिए ।