पढाइ छाडेका बालिका पुनः विद्यालयमा

२८ आश्विन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
12 Shares

यो दृश्य हो नेपालगन्जको छात्रा विद्यालय सल्यानीबंगलाको। यो दृश्य हो नेपालगन्जको छात्रा विद्यालय सल्यानीबंगलाको।

विद्यालयको मध्यान्तरको समयमा एक हुल किशोरीको समूह चौरमा जम्मा भयो। साना बालिका भने आ–आफ्नै तालमा विभिन्न खेल खेलिरहेका थिए। केही आकासे रंगको सर्टमा थिए त केही कुर्तामा। सर्ट लगाउनेले निलो पाइन्ट, कुर्ता लगाउनेले निलै सुरुवाल लगाएका। यी बालिकामध्ये केहीले सामान्य फित्तावाला चप्पल लगाएका थिए भने केहीका खुट्टा खाली थिए। उनीहरूको अवस्था हेरेरै अभिभावकको आयस्तर न्युन रहेको अनुमान लगाउन सकिन्छ। नेपालगन्ज मधेसी र मुस्लिम समुदायको बाक्लो बसोबास भएको ठाउँ। त्यसमाथि धनी परिवारले बालबालिकालाई निजी विद्यालयमा पढाउने यथार्थता। आयस्तर न्युन भएका अभिभावकले बालबालिकालाई सरकारीमा पढाउछन्। तर कतिपय अभिभावकसँग छोराछोरी सरकारी स्कुलमा पढाउन पनि समय छैन। बालबालिकाले नै श्रम गर्नुपर्ने अवस्था। नेपालगन्जमा मात्र करिब २५ सय बालबालिका श्रममा रहेको एक तथ्यांक छ।

सरकारी विद्यालयको स्कुल ड्रेस र किताबकापी किन्न नसक्ने भएका कारण पनि विद्यालय नपठाउने स्थिति छ। त्यसैमाथि मधेसी र मुस्लीम समुदायले उच्च शिक्षा पढ्न छोरीहरूलाई प्रोत्साहन कम गर्ने गरेको पाइएको छ। छोरीहरूलाई अर्काको घर जाने, केटाहरू भएको स्कुलमा पढाउँदा सानैमा भागेर विवाह गर्ने, अन्तरजातीय विवाह गरिदिने, प्रेम गर्ने डरका कारण स्कुल नपठाउने गरेको अभिभावकहरू बताउछन्। यसरी यहाँका धेरै बालिका शिक्षाको पहुँचबाट टाढा रहेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज उपमहानगर ४ सल्यानीवागमा रहेको आधारभूत विद्यालयलाई छात्रा विद्यालय वनाएको हो। यसअघि सरस्वती मावि छात्रा विद्यालय भए पनि यो अर्को विद्यालय सन्चालनमा आएको हो। मधेसी तथा मुस्लीम छात्राहरूको शिक्षामा पहुँच पुर्‍याउन यही वैशाखदेखि सल्यानीबागमा छात्रा विद्यालय सञ्चालनमा ल्याएको नेपालगन्जका मेयर डा. धवलशम्शेर राणाले बताए। उनीहरूका अभिभावकको इच्छा अनुसार छोरीहरूलाई पढ्ने अवसर दिलाउन छात्रा विद्यालय स्थापना गरिएको उनले बताए। छात्रामात्र अध्ययन गर्न पाउने गरी विद्यालय सञ्चालनमा आएपछि यहाँका मधेसी, मुस्लीम समुदायले पनि छोरी पढ्न पठाउन थालेका छन्। वाहिरी जिल्लाबाट नेपालगन्ज झरेका, मजदूरी गर्ने, आर्थिक स्थिति न्युन भएका परिवारले पनि यहाँ छोरीलाई भर्ना गरेका छन्।

पढाई छोडेकाहरू पनि पुनः भर्ना नेपालगन्जकी २६ वर्षीया रविना राई छात्रा विद्यालयमा अध्यनरत ४ वर्षीया छोरी लिन आएको अवस्थामा भेटिइन्। कालो बुर्काले अनुहार छोपेर आएकी उनले आर्थिक अवस्था कमजोर भएकाले यो विद्यालयमा छोरीलाई निःशुल्क पढाउन पाएको बताइन्। यहाँका मधेसी र मुस्लिम समुदायका अभिभावक छोरी बिग्रने र उनीहरू असुरक्षित हुने डरले विद्यालय पठाउन चाहँदैनन्। तर छात्रा विद्यालय खुलेपछि सहज भएको उनीहरूको भनाइ छ। अर्का अभिभावक नजीर रहेमान अझै पनि मधेसी तथा मुस्लीम समुदायमा छोरी पढाउन पढाउन नमान्ने संस्कार रहेकाले छात्रा विद्यालय खुलेपछि सहज भएको बताउँछन्। केटाहरू पढ्ने स्कुलमा छोरीहरूले भागेर विवाह गर्ने, चाँडै विवाह गर्ने, केटाहरूले जिस्काउने भएका कारण यो विद्यालय स्थापनापछि त्यो चिन्ता हटेको उनले बताए। उनकी पनि एउटी छोरी यसै विद्यालयमा पढिरहेकी छिन्। छोरीको पढाई छुटाएकाहरू पनि छात्रा विद्यालय खुलेपछि स्कुल पठाउन थालेको स्थानीय राविया शाहीले बताइन्। उनले पनि छोरी यसै विद्यालयमा पढाइरहेकी छिन्। आफूले पढ्न नपाएकोमा दुःख लागेको बताउँदै उनले छोरीहरूलाई सक्दो उच्च शिक्षा पढाउने दृढ संकल्प सुनाइन्। पहिलेको जस्तो समय नरहेकाले छोरीहरूलाई पढाउनुपर्छ भन्नेमा उनको जोड छ।

कक्षा ७ मा अध्ययनरत छात्रा रोसनी हलवाईले पनि पुनः पढाईलाई निरन्तरता दिएकी छन्। छात्रा विद्यालय बन्नुका साथै उर्दु भाषामा पनि पढाइ हुने भएकाले पुन विद्यालयमा पढाई सुरु गरेको उनले बताइन्। मुस्लिम समुदायमा नमाज पढ्दा उर्दु भाषा आवश्यक भएकाले यो विषय पढ्न लागेको उनको भनाइ छ। निःशुल्क पढ्न पाइनुका साथै उर्दु भाषामा पनि पढाइ हुने भएपछि मुस्लिम समुदायले छोरीहरूलाई छात्रा विद्यालयमा पढाउन थालेको उर्दु भाषा पढाउने शिक्षक आरविदा जमालको तर्क छ। उर्दु भाषा सिक्न ट्युसन पढ्ने समय र पैसाको बचत भएकाले अभिभावकहरूको आर्कषण बढेको उनले बताइन्।

आयसोत बढाउन सघाएपछि अभिभावक पनि उत्साहित निर्धक्क भएर छोरी स्कुल पठाउने वातावरण बनेकोमा अर्की अभिभावक नेपालगन्ज ४ की राज्मा हलवाई पनि खुसी छिन्। उनले यही स्कुलमा पढ्ने छोरीलाई आर्थिक अभावमा कापी कलम किन्न नसक्दा विद्यालय छुटाएकी थिइन्। छात्रा विद्यालय बनेपछि उपमहानगरले आयस्तर उकास्न किराना पसल सन्चालनका लागि सहयोग गरेपछि उनले छोरीलाई निरन्तर विद्यालयमा पठाइरहेकी छिन्। छोरीको पढाइलाई निरन्तरता दिने उनको पनि सोच छ। उपमहानगरले अभिभावकहरूको आर्थिक अवस्था सुधार गर्न बाख्रापालन, किराना पसल सञ्चालन लगायतका आयमुलक सीप दिएको छ।

सामुदायिक विद्यालय भएकाले निःशुल्क पढाइ हुने र विद्यालयले प्रोत्साहनका कार्यक्रम ल्याएपछि अभिभावकको आर्कषण बढेको हो। नेपालगन्ज ४ सल्यानी बंगलाका स्थानीय जुवेदा सल्मानीका ४ वटा छोरीहरू पनि यसै विद्यालयमा पढ्छन्। उनले पनि आयस्रोत बढाउन २ वटा बाख्रा पाएकी छन्। यस्ता प्रोत्साहनका कार्यक्रमले आफूहरूलाई छोरी पढाउन सहज भएको उनले बताइन्। यस्तै उपमहानगरपालिका र वडा कार्यालयले विद्यालयमा छात्राहरूको आर्कषण बढाउन र टिकाइराख्न प्रत्येक छात्रालाई मासिक २ लिटर तेल वितरण थालेको छ। स्कुल ड्रेस, कापी कलम लगायतका छात्रवृत्तिको व्यवस्था पनि गरिएपछि अभिभावकले बालबालिका विद्यालय निरन्तर पठाउन थालेको वडा नं ४ का अध्यक्ष सफीक वेहनाले बताए।

विद्यार्थी पनि खुसी तेल पनि पाइने, छात्रासँगै पढ्न पाइने भएपछि छात्राहरू पनि खुसी छन्। कक्षा ८ कि सादिया खानले आर्थिक अभावमा पढ्न नसक्नेलाई विद्यालयले सहयोग पुर्‍याएको बताइन्। कक्षा ८ की कल्पना थारुले आफूहरूले पनि कम खर्चमा गुणस्तरीय शिक्षा पाएकोमा खुसी व्यक्त गरिन्। विद्यालयको शैक्षिक गुणस्तर बढेको र बालिकामा मात्रै भएपछि नजानेका प्रश्न सोध्न सहज हुने उनको भनाइ छ। ‘पहिला केटाहरूले जिस्काउथे, पढाइमा डिस्टर्ब हुन्थ्यो, अहिले सहज छ,’ उनले भनिन्। अहिले घरका अभिभावकबाट पनि निरन्तर विद्यालय आउन प्रोत्साहन मिलेको उनको भनाइ छ। उनले पनि एक वर्ष पढाइ छाडेकामा पुनः निरन्तरता दिन पाएको बताइन्। उनीजस्तै धेरै छात्राले आर्थिक अभाव लगायतका विभिन्न कारणले विद्यालय छाडेकामा पुनः निरन्तरता दिन थालेका छन्।

शैक्षिक स्तर सुधारिँदै उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा लामो समयदेखि काम गरिरहेकी किरण आचार्यलाई परामर्शदाताको जिम्मेवारी दिएको छ। धम्बोझी माविको शैक्षिक गुणस्तर माथि उकास्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकी आचार्यले विद्यार्थीकेन्द्रित पढाइमा जोड दिएको बताइन्। सुरुवातमा शिक्षकहरू धेरै खटिने गरे पनि नतिजा राम्रो नआउने समस्या थियो। तर आफू परामर्शदाताका रुपमा विद्यालयमा आएपछि डेढ दशकदेखिको आफ्नो शैक्षिक अनुभव र सिकाइले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा लागिपरेको आचार्यले बताइन्। आफू आएपछि विद्यार्थीकेन्द्रित पढाई सुरु गरेको उनले बताइन्।

विद्यार्थीहरूलाई नै सक्रिय वनाउने विधिका कारण स्तर सुधार हुँदै गएको उनको भनाइ छ। उपमहानगरपालिकाले ९० लाखको लागतमा जीर्ण विद्यालय मर्मतसम्भार गर्नुका साथै नयाँ संरचना निर्माण गरी पठनपाठन सुरु गरेको हो। छात्राहरू मात्र हुने भएकाले विद्यालयमा पढ्न आउनेको संख्या पनि बढेको छ। गतवर्ष १ सय २० छात्रछात्रा अध्ययनरत रहेकोमा यस वर्ष बढेर २ सय ५२ पुगेको शिक्षक कमला सुनारले बताइन्। यो विद्यालय २०२२ सालमा स्थापना भएको हो। प्राथमिक विद्यालय मात्र सञ्चालन भएकोमा २०३५ सालमा निम्न माध्यामिक विद्यालयको सुरुवात गरियो। पुर्णावति शेरचनको अध्यक्षतामा विद्यालय सञ्चालन गरिएको हो। त्यो समयमा खानी मोहम्मद सीद्धिकिले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए। २०७० देखि प्रधानाध्यापकको जिम्मेवारी विधेसकुमार जैसवालले सम्हालिरहेका छन्। उनका अनुसार हाल यो विद्यालयमा २ सय ५२ विद्यार्थी छन्। पहिलेको भन्दा विद्यालयको शिक्षामा धेरै सुधार भएको उनको दाबी छ।भौतिक पुर्वाधार मर्मतसम्भार रंगरोगन हुनुका साथै सरसफाइलगायत पढाइमा पनि सुधार भएको उनले बताए। मुस्लिमबाहुल्य क्षेत्र भएकाले छोरी पढ्न नपठाउने समस्या अन्त्य गर्दै छात्रा विद्यालय सञ्चालन गरिएको उनले बताए।

२०७३ देखि ८ कक्षा सञ्चालन भएको यो सामुदायिक विद्यालयले निःशुल्क शिक्षा दिइरहेको छ। पुराना शिक्षकको अवकाश हुनुका साथै नयाँ विषयगत शिक्षक आएका कारण पनि शैक्षिक गुणस्तरमा सुधार भएको उनको तर्क छ। विद्यालयमा हाल नगरपालिकाको अनुदानमा १० वटा कम्प्युटर सञ्चालनमा छन्। नगर अनुदानमा २ जना गरी कुल १३ शिक्षकले अध्यापन गराइरहेका छन्। छात्रा विद्यालयसँगै नेपालगन्ज उपमहानगरपालिकाले उच्च शिक्षा अध्ययनका लागि छात्रा क्याम्पस खोल्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। उपमहानगरपालिकाले आगामी वैशाखसम्म कन्या विद्यालय सञ्चालनमा आउने गरी प्रक्रिया अघि बढाएकोे मेयर डा. धवलशम्शेर राणाले बताए। – नेपालन्युज

फेसबुकबाट तपाईको प्रतिक्रिया