बेलायतमा भएको संयुक्त सैन्य अभ्यासमा नेपालको उत्कृष्ट प्रदर्शन

प्रकाशित मिति:

काठमाडौँ –३४ देश सहभागी संयुक्त सैन्य अभ्यास क्याब्रिन प्याट्रोल–२०१९ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ बेलायतमा भएको सो संयुक्त सैन्य अभ्यासमा नेपाली सेना उत्कृष्ट भएको हो । अभ्यासमा बेलायतको १ सय ६ सहित ३४ देशका १ सय ४० सैन्य टोली सहभागी भएका थिए । नेपालका तर्फबाट प्रमुख सेनानी अशिमदेव गुरुङको नेतृत्वमा विशेष फौज बाहिनी, श्रीपशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका दश जना सेना सहभागी थिए । उनीहरु असोज ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले असोज २४ गतेबाट वेल्स ब्रेकनमा अभ्यास भएको जानकारी दिनुभयो । प्रवक्ता पाण्डेका अनुसार यो अभ्यासमा युद्धकालिन विशेष परिस्थितिको कल्पना गरेर शत्रुपक्षको गतिविधि समेत समेटिएको थियो । यस्ता विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्यांकन गरिने सैनिक मूख्यालयले जनाएको छ ।कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्नुपर्ने प्रावधान रहन्छ । सेनाले यो अभ्यासमा सन् २०१४ बाट भाग लिँदै आएको छ ।