नेपाल र म्यानमारबीच समझदारी

प्रकाशित मिति:

म्यानमार – म्यानमारको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका स्टेट काउन्सिलर आङ सान सुचीको उपस्थितिमा बिहीबार दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
म्यानमारको राजधानी नेपितस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यानमार सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री क्य तिनबीच ती दुई समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको हो ।

दुई राष्ट्रपतिबीच भेटवार्ता राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति विन मिन्तबीच बिहीबारै प्रेसिडेन्सियल हाउसमा भेटवार्ता सम्पन्न भएको छ । राष्ट्रपति भण्डारीले सो हाउसमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो । त्यसअघि बिहान सो हाउसको परिसरमा राष्ट्रपति भण्डारीलाई म्यानमारको सेनाले सम्मानगारद (गार्ड अफ अनर) दिएको थियो । राष्ट्रपति भण्डारी म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार साँझ म्यानमारको राजधानी नेपित आइपुग्नुभएको थियो । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सुचीबीच उपहार आदानप्रदानसमेत गरिएको थियो । यसैबीच राष्ट्रपति भण्डारी र प्रतिनिधिमण्डलको सम्मानमा राजधानी नेपितस्थित प्रेसिडेन्सियल हाउसमा आयोजित राजकीय भोजमा म्यान्माली राष्ट्रपति विन मिन्तले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको ऐतिहासिक म्यानमार भ्रमणले दुई देशबीचको सम्बन्ध अझ माथि उठाउने बताउनुभएको छ ।

उहाँले भ्रमणबाट आपसी विश्वास, समझदारी तथा धार्मिक सांस्कृतिक सामीप्यता झन् बढ्ने विश्वास व्यक्त गर्नुभयो । दुई देशबीचको निकट ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक समानता र आपसी समझदारीले दुई देशबीचको मित्रताको परम्परागत सम्बन्ध कायम राखिरहेको पनि उहाँले बताउनुभयो । उहाँले म्यानमारको बगानका प्राचीन मन्दिर र याङ्गुनको आकर्षक स्वेदागोन पेगोडाले नेपाली प्रतिनिधिमण्डललाई म्यानमार र नेपालका लुम्बिनीजस्ता बौद्ध तीर्थस्थलहरूबीच सम्बन्ध गाँस्न नयाँ विचार उत्पन्न हुने विश्वास गर्नुभयो । राष्ट्रपति भण्डारीले प्रत्युत्तर मन्तव्यका क्रममा आफूले गौतम बुद्धको जन्मभूमिबाट न्यानो माया र शुभकामना लिएर आएको बताउँदै बुद्धका सन्देशले मानिसको जीवनपद्धतिलाई नै मार्गनिर्देशन गरेको स्पष्ट गर्नुभयो । बौद्ध दर्शनको उद्गमस्थल लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसङ्घका महासचिव उ थान्त (म्यानमार)को योगदानको प्रशंसा गर्दै उहाँले लुम्बिनीप्रति म्यानमारको सहयोग र सद्भाव रहने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यान्मालीको योगदानप्रति प्रशंसा गर्दै तिनको संरक्षण गरेकामा म्यानमार सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो । सो अवसरमा दुवै राष्ट्रपतिबीच उपहार आदानप्रदान गरिनाका साथै सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो । दुवै राष्ट्रपतिले प्रदर्शनमा सहभागीलाई फूलको माला दिएर सम्मान गर्नुभएको थियो ।

मिलेर अघि बढ्ने प्रतिबद्धता यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो समयदेखि नेपालबाट राष्ट्रप्रमुख तहमा म्यानमारको राजकीय भ्रमण नभएको परिप्रेक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमणबाट दुई देशका जनस्तर तथा सांस्कृतिक सम्बन्ध एवं ६० वर्ष लामो दौत्यसम्बन्ध प्रगाढ बनाउने उद्देश्य रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीको गणतन्त्र म्यानमार सङ्घका राष्ट्रपति मिन्त र स्टेट काउन्सिलर सुचीसँगको भेटपछि सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग कुरा गर्दैै मन्त्री ज्ञवालीले यस भ्रमणले सम्बन्धलाई अझ उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो । म्यानमाली राष्ट्रपति र स्टेट काउन्सिलरसँगको भेटमा जलवायु परिवर्तन, पर्यटन, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य, व्यापार र लगानी विषयमा छलफल भएको जानकारी दिँदै मन्त्री ज्ञवालीले विकासको उस्तै गतिबाट गुज्रेका दुई देशबीच सहकार्यका अनेकौँ विषय हुन सक्ने भएकाले आगामी दिनमा मिलेर अगाडि बढ्ने समझदारी भएको स्पष्ट गर्नुभयो ।

“सांस्कृतिक विषयमा आदानप्रदान गर्ने, दुवै देशका सांस्कृतिक सम्पदा विश्वमा परिचित गराउने, भ्रमण टोलीहरूको आदानप्रदान गर्ने तथा संस्कृतिहरूको रक्षाका लागि मिलेर काम गर्ने विषयमा छलफल भयो”, उहाँले भन्नुभयो । संस्कृति, पर्यटनजस्ता विषयमा सहकार्य अझ बढ्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । नेपाली मूलका म्यानमाली उल्लेखनीय रूपमा म्यानमारमा रहेका र तिनले म्यानमारको अर्थतन्त्र तथा अन्य बहुपक्षीय विषयमा सम्बद्र्धन गर्न योगदान गरेको पनि उहाँले स्मरण गर्नुभयो । बर्सेनि करिब ४५ हजार म्यानमालीले नेपाल भ्रमण गरेका र लुम्बिनी पनि तिनको गन्तव्य बनेकामा सन्तोष व्यक्त गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भैरहवास्थित गौतमबुद्ध विमानस्थल निर्माण पूरा भएपछि म्यानमालीको पहिलो गन्तव्य बुद्ध जन्मभूमि लुम्बिनी बन्ने विश्वास व्यक्त गर्नुभयो । म्यानमाली राष्ट्रपति र स्टेट काउन्सिलरले नेपाल भ्रमण वर्षलाई सघाउन सकभर नियमित र त्यसो हुन नसकेमा व्यावसायिक तथा धेरैभन्दा धेरै चार्टर उडान गरिने विश्वास दिलाउनुभएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।