विपद् व्यवस्थापन न्यूनीकरणमा तीनै तहको सरकारको उत्तिकै भूमिका छ : गृहमन्त्री थापा

प्रकाशित मिति:

काठमाडौं –  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद् न्यूनीकरणका लागि तीनै तहका सरकारको उत्तिकै भूमिका रहेको बताउनुभएको छ । नेपाल भौगर्भिक समाजले आज यहाँ आयोजना गरेको ‘विपद् न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस-२०७६ कार्यशाला गोष्ठी’मा उहाँले नेपाल विपद्को उच्च जोखिमको क्षेत्र भएकाले यसलाई न्यूनीकरण गर्न तीनै तहको सरकारको भूमिका रहेको बताउनुभएको हो । “विपद् न्यूनीकरणका लागि सरकारी तवरबाट कानूनी र नीतिगत व्यवस्था गरिएको छ, अब आउने विपद् न्यूनीकरण गर्न क्षमता र कौशलको विकास गर्नु जरुरी छ”, उहाँले भन्नुभयो । बढ्दो विश्व तापमानका कारण हिमालमा ह्रास आउनेक्रम बढेको उहाँको भनाइ थियो । गृहमन्त्री थापाले विपद्का कारण हुने क्षतिलाई न्यूनीकरण गर्न बलियो संरचना निर्माणमा ध्यान दिनु जरुरी रहेको उल्लेख गर्नुभयो । विपद्को सामना गर्न सरकारी, गैरसरकारी निकाय एकताबद्ध हुनु जरुरी रहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित स्थानमा भौतिक संरचनामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले २०७२ पछिको भूकम्पपछिको पुनःनिर्माण तीब्र गतिमा भइरहेको उल्लेख गर्नुभयो । युएनडिपीका सहायक आवासीय प्रतिनिधि विजय सिंहले दिगो विकासको लक्ष्यलाई पूरा गर्न विपद् न्यूनीकरणमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । खानी तथा भू-गर्भ विभागका महानिर्देशक डा सोमनाथ सापकोटाले विपद् व्यवस्थापन न्यूनीकरणलाई संविधानमै उल्लेख गरेकाले यसलाई कम गर्नका लागि सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो ।

सन् १९८९ देखि राष्ट्रसङ्घीय महासभाले विश्वमा विपद् सचेतनाको संस्कार बसाउन र विपद् न्यूनीकरण प्रवद्र्धन गर्न दिवस मनाउने निर्णयअनुसार नेपालमा पनि अक्टोबर १३ तारिखमा उक्त दिवस मनाउन शुरु गरिएको हो । नेपाल भौगर्भिक समाजका अध्यक्ष रामप्रसाद घिमिरेले विपद् व्यवस्थापन न्यूनीकरणसम्बन्धी सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । नेपालमा दुई वर्षको अवधिमा छ हजार ३८१ साना ठूला विपद्का घटना घटेको अध्यक्ष घिमिरेले बताउनुभयो । सोही अवसरमा गृहमन्त्री थापाले नेपालमा विपद् व्यवस्थापनसम्बन्धी पुस्तक सार्वजनिक गर्नुभएको थियो ।