सकियो धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ छायांकन

प्रकाशित मिति:

काठमाडौं – धुर्मुस सुन्तलीको जोडीले निर्माण गर्न लागेको चलचित्र ‘सेन्टी भाइरस’ को छायांकन सकिएको छ । यो चलचित्रलाई ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङले निर्देशक गरिरहेका छन् । झण्डै १ महिना लगाएर फिल्मको छायांकन सकिएको हो ।चलचित्रका निर्माता समेत रहेका सीताराम कट्टेल धुर्मुस ले चलचित्रको छायांकन सकिए पनि एक गीतको छायांकन भने बाँकी रहेको जानकारी दिए । ‘एउटा गीतको छायांकनको केही काम बाँकी रहेकाले सो छायांकनको काम सकिएसँगै प्रदर्शन मिति सार्वजनिक गर्नेछौँ,’ कट्टेलले भने ।

चलचित्रमा सीताराम र कुञ्जना घिमिरेसँगै दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल लगायत कलाकारको अभिनय रहनेछ ।सामाजिक विषयलाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको यो फिल्मलाई शैलेन्द्र डी कार्कीले खिचेका हुन् ।झण्डै २ करोड लगानीमा निर्माण भइरहेको यो फिल्म दर्शकका लागि प्रतीक्षित बनेको छ । निर्माण टिमले नाफाको २० प्रतिशत समाजसेवामा खर्चिने घोषणा गरिसकेको छ ।