लाखे नाच देखाएर ३ लाख संकलन

प्रकाशित मिति:

हरिश ढकाल– बुटवल, १५ भदौं । गुल्मीको वामीटक्सारबाट आएको परम्परागत लाखे नाच अर्थात राक्षसी नृत्य प्रदर्शन गरेर झण्डै ३ लाख रुपैयाँ संकलन भएको छ । नेवाः बरजु पुचः वामीटक्सार गुल्मीद्वारा तम्घास, तानसेन र बुटवलमा समेत प्रदर्शन गरेको सो लाखे नाच देखाएर उठेको रकमबाट समाजको भवन निर्माणमा लगानी गरिने छ ।
नेवार समुदायले आफ्नो धार्मिक एवं साँस्कृतिक कार्यक्रमका रुपमा देखाउने लाखे नाच देशका बिभिन्न भागमा लोकप्रिय रहेको छ । राक्षसहरुले दुःख दिएपछि भगाउनका लागि ललितपुरको पाटनमा २ सय १० बर्षअघि लाखे नाच शुरु गरिएको थियो । पाटनबाट शुरु भएको लाखे नाच नेपालका बिभिन्न भागमा बिशेषगरि नेवारी समुदायको बाहुल्यता रहेको स्थानमा प्रदर्शन गर्ने प्रचलन रहेको छ ।
बिभिन्न ठाउँमा प्रदर्शन गरिएको लाखे नाच प्रदर्शनबाट ३ लाख रुपैयाँ संकलन भएको र खर्च कटाई बचेको रकमबाट नेवाः बरजु पुचः अर्थात समाजको भवन निर्माणमा लगाइने नेवाः बरजु पुचः वामीटक्सार गुल्मीका अध्यक्ष मोहनलाल श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले नेवा पुचःको भवन निर्माणका लागि रकम संकलन गर्ने उद्देश्यले लाखे नाच बुटवल लगाएत बिभिन्न स्थानमा प्रदर्शन गरिएको बताए । भवन निर्माणका लागि प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र सभासदहरुबाट पनि सहयोगको अपेक्षा गरिएको श्रेष्ठले बताए ।
यसैबिच बुटवल स्थित मुख्यमन्त्री निवासमा पनि उक्त लाखे नाच देखाइयो । मुख्यमन्त्री शंकर पोखरेल, सामाजिक बिकास मन्त्री सुदर्शन बरालसहित प्रदेश सभासदहरुले पनि उक्त लाखे नाच अवलोकन गरेका थिए । नेवारी समुदायमा राक्षस भगाउने भन्ने प्रचलनका रुपमा रहेको यो परम्परागत लाखे नाचको बिशेष महत्व रहेको नेवाः प्ुचःका अगुवाहरु बताउछन । नेवाः बरजु पुचः वामीटक्सार गुल्मीद्वारा तम्घास, तानसेन र बुटवलमा समेत प्रदर्शन गरेको लाखे नाच प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई समेत अवलोकन गराइएको हो ।