८१ कम्पनीको कारोबार रोकिदा नेप्से प्रभावित

३ कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
1 Shares


काठमाडौं – आइतबार शेयर बजारमा परिसूचक नेप्से घटेको छ । बजारमा लगानीकर्ताले खरिद विक्री कम गर्दा कारोबार रकम पनि न्यून छ । ११ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा खरिदकर्ता कम हुँदा विक्रीचाप बढ्न गई नेप्से ऋणात्मक बनेको देखिन्छ । त्यस्तै नेप्सेले ८१ कम्पनीलाई सूचिकरणबाट हटाउँदा समेत नेप्सेमा प्रभाव परेको छ । आइतबार शेयर बजारमा परिसूचक नेप्से ४ अंकले घटेर १ हजार १ सय ३४ अंक भन्दा तल बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ । बजारमा लगानीकर्ता न्यून देखिएका छन् । जसका कारण कारोबार रकम पनि अत्यन्तै कम भएको छ । १ सय २८ कम्पनीको ११ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जले ८१ कम्पनीको कारोबार रोक्का गरेकाले पनि बजारमा प्रभाव परेको लगानीकर्ताले बताएका छन् ।

कम्पनीहरुले धितोपत्र नवीकरण शुल्क नबुझाएका कारण सूचीकरण खारेज गरिदिएको नेप्सेले जनाएको छ । यो विषयले पनि बजारमा प्रभाव परेको देखिन्छ । त्यस्तै वित्तीय प्रणालीमा बढ्दै गएको ब्याजदरका कारण पनि शेयर बजारमा लगानी बढ्न सकेको छैन् । आइतबार कारोबारमा आएका सबै समुहका सूचकहरु घटेका छन् । त्यसैले पनि नेप्से दवावमा देखिन्छ । प्रभु बैंकको कारोबार सबैभन्दा बढी १ करोड ९ लाख रुपैयाँ बराबरको भएको छ । सूचकहरु घटेपनि नविल प्रगति फण्डको बजार मूल्य झण्डै ४ प्रतिशतले बढेको छ । सिनर्जी पावरका शेयरधनीहरुले भने ५ दशमलव ३३ प्रतिशतले गुमाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया