चीनले नेपाली सेनालाई साढे दुई अर्बको सहयोग गर्ने

प्रकाशित मिति:

काठमाडौं – चीन सरकारले नेपाली सेनालाई दुई अर्बभन्दा बढी रकमबराबरको सहयोग गर्ने भएको छ । चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ रक्षामन्त्री जनरल वि फेन्हीबीच आइतबार सहयोगका सम्बन्धमा हस्ताक्षर भएको रक्षामन्त्री पोखरेलका स्वकीय सचिव लोकेन्द्र केसीले जानकारी गराएका छन् । उनका अनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ रक्षामन्त्री फेन्हीबीच १५० मिलियन युआन अर्थात् करिब दुई अर्ब ४१ करोड २४ लाख ३७ हजार १४८ रुपैयाँबराबरको मानवीय तथा विपद व्यवस्थापनसँग सम्बन्धित सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको हो ।

यसअघि अक्टोबर १२-१३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालको राजकीय भ्रमणका क्रममा उक्त सहयोगको प्रतिबद्धता भएबमोजिम चीनले सहयोग प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको जनाइएको छ । उक्त सम्झौताबमोजिम आगामी तीन वर्षमा सामग्रीहरुको विवरणको आधारमा नेपाललाई हस्तान्तरण गरिनेछ । यसअघि पनि गत वर्षको रक्षामन्त्री पोखरेलको चीन भ्रमणका क्रममा पन्ध्र करोड युआन बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सहायता सामग्रीहरू उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौता कार्यान्वयनको चरणमा रहेको रक्षा मन्त्रालयले जनाएको छ । रक्षामन्त्री पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशील, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र एक-अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्देशित भएको बताउँदै नेपाल र चीनबीचको असल र मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्‍याउन र दुई देशबीच सम्पर्क र सहयोग विस्तार गर्न राष्ट्रपति सीको भ्रमणले ठूलो योगदान गरेको बताए ।

भेटवार्ताका क्रममा चीनका रक्षामन्त्री जनरल फेन्हीले नेपाल र चीनबीच प्राचीन कालदेखि नै सुमुधर, मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गर्दै उहानमा आयोजित सातौं मिलिटरी वर्ल्ड गेम्स र बेइजिङमा आयोजना हुने नवौं सीआनशान फोरममा नेपालबाट उच्चस्तरमा भएको सहभागिताका लागि चीन सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे । आगामी २०१९ अक्टोवर २२ मा हुने उक्त फोरममा रक्षामन्त्री पोखरेलले नेपाल लगायतका साना मुलुकका सुरक्षा सरोकारका विषयमा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूबीच नेपालको धारणा राख्ने कार्यक्रम छ । भेटवार्ताको अन्त्यमा रक्षा मन्त्री पोखरेलले चीनका रक्षा मन्त्रीलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणासमेत दिएका छन् ।