आशाको मृत्युबारे चितवन मेडिकल कलेजले जवाफ दिएन, मृतकका आफन्तद्वारा ताेडफाेड

प्रकाशित मिति:

चितवन – चितवन मेडिकल कलेजमा डाक्टरहरुको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले मेडिकल कलेज तोडफोड गरेका छन् । पूर्वी नवलपरासीकी आशा ज्ञवालीको शनिबार उक्त अस्पतालमा मृत्युभएपछि आफन्तले आईतबार तोडफोड गरेका हुन् । आशाको नाकमा मासु पलाएपछि गत असोज २६ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । चिकित्सकले सामान्य अप्रेसन गरेर केही घण्टामै सकिने बताए पनि ७ घण्टा लगाएर अप्रेसन गरेको मृतकका श्रीमान् टुक नारायण ज्ञवालीले बताए । ज्ञवालीको अप्रेसन अस्पतालका डाक्टर सोभितजंग बरालले गरेको बुझिए पनि सिकारु डाक्टरले अभ्यास गर्ने क्रममा उक्त घटना भएको देखिन्छ । सामान्यता केही घण्टामै अप्रेसन सकिने र धेरै खर्च पनि नलाग्ने भनेपछि अप्रेसन गर्न मन्जुरी दिएकाे मृतका श्रीमानको भनाई छ । श्रीमानका अनुसार अस्पतालले १ लाख बराबामा सबै खर्च उम्कने बताए पनि ५ लाखभन्दा बढी रकम खर्च भैसकेको छ ।

असोज २७ गते अप्रेसन गरेपछि ज्ञवालीको अवस्था झन जटिल बन्दै गएको थियो । सामान्य किसिमको अप्रेसन भन्दै गरिएको भए पनि डाक्टरहरुले कहिले कलेजोले काम गरेन कहिले आँखाको नानी गुम्यो, कहिले मृगौलाले काम गरेन भन्दै आफ्नालाई गैरजिम्मेवार जवाफ दिने गरेको मृतका श्रीमानको भनाई छ । मृतकका आफन्तले अस्पतालको मुख्य प्रवेशद्वार, भित्री प्रवेशद्वारा र झ्यालका सिसाहरु फुटाएका छन् । विरोधमा उत्रिएका मृतकका आफन्तलाई चितवन प्रहरीले भने डीएसपीको कमाण्डमा बल प्रयोग गरेको थियो । बल प्रयोगले आक्रोसित आफन्तलाई नियन्त्रणमा लिन नसकेपछि प्रहरीले अस्पताल परिससरमै अश्रुग्यास प्रहार गरेको थियो ।

प्रहरीको अश्रुग्यासका कारण अस्पतालभित्र उपचाररत बिरामीहरु समेत प्रभावित बनेका थिए । यता जिल्ला प्रहरी कार्यलय चितवनले भने सामान्य किसिमको बल प्रयोग गरेको अभिव्यक्ति दिएको छ । यस सम्बन्धमा अस्पतालका पक्षसँग पटकपटक सम्पर्क गर्न खोज्दा कोही पनि सम्पर्कमा आएनन् । अस्पताल प्रशासनसँग यस विषयमा हाम्रो टिमले दिनैभर आधिकारिक धारणा लिन खोजे पनि अस्पताल प्रशासनले विभिन्न बहानामा हामीलाई जवाफ दिन चाहेन । हाम्रो टिमले अस्पतालका डाइरेक्टर दयाराम लम्सालसँग पटकपटक यस विषयमा जान्न खोजे पनि उनले प्रतिवेदन तयार पार्दै गरेको जवाफ दिए । उनीसँग हामीले भएको केहो, के कारणले बिरामीको मृत्यु भयो भन्ने प्रश्न गर्दा प्रतिवेदनमै उल्लेख गर्ने बताए । तर हामीलाई त्यो प्रतिवेदन दिन पनि मानिएन । चितवन मेडिकल कलेज शैक्षिक मेडिकल कलेज भएका कारण पनि बेला-बेलामा यस्ता किसिमका घटना घट्ने गरेका छन् । टिचिङ अस्पताल भएकै कारण विद्यार्थीलाई प्रयोगात्मक शिक्षणसमेत आवश्यक हुँदा यस्ता कि सिमका घटनाको सङ्ख्यामा वृद्धि भइरहेको छ । – न्युज२४नेपाल