बालुवाटारमा कांग्रेस र नेकपाका नेताहरू अनौपचारिक छलफलमा, के छन् एजेण्डा ?

प्रकाशित मिति:

काठमाडौं – पदाधिकारीबिहिन रहेका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका बिषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ । सोमवार बिहानदेखि चलेको छलफलमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू सहभागी छन् ।

प्रचण्ड निकट स्रोतले उक्त छलफल अनौपचारिक रहेको लोकान्तरलाई बतायो । ‘आजको छलफल अनौपचारिक हो,’ स्रोतले भन्यो, ‘द्वन्दकालीन मुद्दाहरूको विषयमा छलफल भइरहेको छ, छिट्टै औपचारिक बैठक बस्ने र यो विषयलाई टुंग्याउने विषयमा उहाँहरु कुरा गरिरहनु भएको छ ।’

बैशाखदेखि पदाधिकारीबिहिन रहेका दुवै आयोगमा अहिलेसम्म सिफारिस समितिले पदाधिकारी नियुक्त गर्न सकेको छैन । शान्ति प्रक्रियालाई पूर्णता दिन द्वन्दकालमा भएका गम्भीर मानवाधिकार हननका मुद्दाहरू किनारा लगाउनुपर्ने भए पनि दलीय स्वार्थका आधारमा आयोगहरूले पूर्णता पाउन सकिरहेका छैनन् ।