सञ्चार नीतिको बिरोधमा अष्ट्रेलियाली अखबारहरुले गरे पहिलो पृष्ठमा ब्ल्याक आउट

प्रकाशित मिति:

एजेन्सी – अष्ट्रेलियामा सोमबार बिहान देशका अखबारहरुका पहिलो पृष्ठ कालो रङको छापिएको दुर्लभ घटना यतिखेर विश्वको ध्यान खिच्न सफल भएको छ । अखबारहरुले देशमा मिडियामाथि लगाम लगाउने प्रयासको विरोध गर्न उक्त कदम उठाएका बीबीसीले उल्लेख जनाएको छ । अखबारहरुको यो अभियान (राइट टू नो कोएलिशन) लाई त्यहाँका टीभी, रेडियो र अनलाइन समूहहरुले पनि समर्थन गरिरहेका छन् । अष्ट्रेलियामा विगत दुई दशकयता सञ्चार माध्यमहरु माथि लगाइएको कडा कानुनका कारण खोजी पत्रकारिता खतरामा परेको अभियान सञ्चालकहरुको भनाइ छ ।

अष्ट्रेलिया सरकारको कडा कानुनले आमपाठक समक्ष जानकारी पुर्याउनमा रोक लगाएको मिडियाको भनाइ छ । अखबारहरुले पहिलो पाना कालो बनाउने तरिका यसै वर्ष जुन महिनामा अष्ट्रेलियाको एक ठूलो मिडिया ग्रुप अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) को मुख्यालय र एक पत्रकारको घरमा छापा मारिएको घटनाको विरोधमा जारी विरोधका रुपमा उठाएका हुन् । व्हिसलब्लोअर्सबाट चुहिएको जानकारीका आधारमा प्रकाशित केही लेखहरुपछि छापा हानिएको थियो ।

गत वर्ष ल्याइएको नयाँ कानुनपछि अष्ट्रेलियाका मिडिया संगठन पत्रकारहरु र व्हिसलब्लोअर्सलाई संवेदनशील मामिलाको रिपोर्टिङमा छुट दिनुपर्ने भन्दै अभियान चलाइरहेका छन् । सोमबार सबै अखबारहरुले एकजुट हुँदै आफ्नो मुख्य पृष्ठमा लेखिएका सबै शब्दहरुमा कालो पोतेका छन् । जसमा एक लालमोहर लगाएर लेखिएको छ–‘सिक्रेट’  राष्ट्रिय सुरक्षा कानुनका कारण रिपोर्टिङमा अंकुश लगाउन गइरहेको र देशमा ‘गोपनीयताको संस्कृति’ बनेको अखबारहरुको भनाइ छ । तर, अष्ट्रेलिया सरकार प्रेस स्वतन्त्रताको समर्थन गर्दै ‘कानुनभन्दा माथि कोही छैन’ भन्दै आएको छ । न्यूज कर्प अष्ट्रेलियाका कार्यकारी अध्यक्ष माइकल मिलरले आफ्नो ट्वीटमार्फत कालो पोतिएको मास्टहेड्सको छवि बाहिर निकालेका छन्, जसमा द अस्ट्रेलियन र द डेली टेलिग्राफ नामक पत्रिकाको समेत फोटो देख्न सकिन्छ। उनले उक्त फोटो राख्दै जनतालाई सरकारमाथि प्रश्न गर्न आग्रह गरेका छन् ।