‘रात परेपछि रक्सीमा डुब्‍ने र अनैतिक काम गर्नेलाई पार्टीले चिन्‍नुपर्‍यो’

प्रकाशित मिति:

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र पसेर कम्युनिस्ट पार्टीलाई नै समाप्त पार्ने ‘धमिरो प्रवृत्ति’ बढेको भन्दै चिन्ता प्रकट गरेका छन् । पार्टी कामको सिलसिलामा वीरगञ्ज पुगेका नेता नेपालले त्यहाँको स्थानीय आवाज एफएमसँग आइतबार कुराकानी गर्दै नेतृत्वको ध्यानाकर्षण गरे, “रात परेपछि रक्सीमा चुर्लुम्म डुब्ने र अनैतिक काम गर्ने को–को हुन् ? पार्टीले चिन्नुपर्यो ! कम्युनिस्ट पार्टीभित्र पसेर भित्रभित्रै छुरा रोप्ने, कम्युनिस्ट आचरणमा नरहने, बिनापैसा काम नगर्ने, पैसाको वरिपरि घुम्ने को–को हुन् ? पार्टीले चिन्नुपर्यो !” उनले कम्युनिस्ट पार्टीभित्रै सङ्गठित भएकाले पार्टीलाई सिध्याउन लागिपरेको बताउँदै नेतृत्वले आँखा र कान खोल्नुपर्ने र तलका नेता कार्यकर्ताले भनेका कुरा सुन्नुपर्ने धारणा राखेका छन् । “आफ्नो दायित्व पूरा नगर्ने को–को हुन् ? पार्टीका इमान्दार नेता पन्छाएर सानो कोटरीका लागि काम गर्ने को–को हुन् ? क्रान्तिकारी, कम्युनिस्ट पार्टीका नेता, कार्यकर्तामा हुनुपर्ने गुण के–के हुन् ? कोसँग छ, कोसँग छैन ? कसले वर्गीय दृष्टिकोणमा आधारित भएर काम गर्छ, कसले गर्दैन, सबैको मूल्याङ्कन हुनुपर्छ । राम्रो कुरालाई प्रोत्साहित गर्नुपर्छ । नराम्रो कुरालाई निरूत्साहित गर्नुपर्छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्नुपर्छ, नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्छ, तबमात्र फोहोर फालिन्छ । पार्टी सफा भएर बग्छ,” उनले विचार राखेका छन् ।

कम्युनिस्ट पार्टीका नाममा कलङ्क त छैनन् ? भन्दै नेता नेपालले प्रश्न पनि गरे । “समाजमा होस् या पार्टीमा सबैखालका विकृति विसङ्गति आचरणसँग जोडिएका हुन्छन् । पैसासँग जोडिएका हुन्छन् । यी सबै अनुचित कुराहरूलाई हामीले त्याग्नुपर्छ । हामीले मान्छेलाई सत्चरित्रताको दिशामा अघि बढ्न उत्प्रेरित गर्नुपर्छ । यो त्यतिबेला सम्भव छ, हामी आफैँ सत्चरित्रवान् हुन्छौं । इमान्दार हुन्छौं । मिहिनेती, कर्तव्यपरायण हुन्छौं । हामीले व्यवहारबाट राम्रो आचरण देखाउन सकेनौं भने अरूलाई भन्ने कुराको अर्थ रहँदैन,” उनले अन्तर्वार्तामा भनेका छन् । नेता नेपालले पार्टी एकता पूरा नभएकाप्रति पनि गुनासो गरे । उनले पार्टी एकीकरण भएको १६ महिनासम्म पोलिटब्युरो गठन हुन नसकेको, केन्द्रीय आयोग (अनुशासन, लेखा, निर्वाचन), केन्द्रीय निकाय (ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्) गठन हुन नसकेको, विभाग र प्रदेश कमिटीले पूर्णता पाउन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

यी सबै कमिटी केन्द्रीय कमिटीको मोडालिटीमा एउटै बैठकले, एउटै निर्णय र सर्कुलरले गर्न सकिने बताउँदै नेतृत्वले तदारूकता देखाउनुपर्ने बताए । “यी सबै काम सक्न गाह्रो छैन । एउटै बैठक, एउटै निर्णयबाट, एउटै सर्कुलरबाट गर्न सकिन्छ । जसरी केन्द्रीय कमिटी एकीकरण गरियो, त्यही मोडलबाट गर्न सकिन्छ । तलसम्म हिजो भएका साविक कमिटीका सदस्यलाई समावेश गरेर गर्न सकिन्छ । कम छ भने सिनियरलाई थपेर, ठूलो छ भने जुनियरलाई हटाएर, सम्भव भए सबैलाई अटाएर एकताको कामलाई पूर्णता दिन सकिन्छ । कसैलाई पनि मेरो त तेरो, नजिक र टाढा ठानेर होइन, हजिो भर्खर आएका र पैसा भएकालाई बोकेर होइन, मन नपरेकालाई पन्छाएर, विधिमा टेकेर एकता गर्नुपर्छ,” उनले भने । कुनै कार्यकर्ताविरुद्ध उजुरी प¥यो भने छानबिन गर्नुपर्ने, कार्यकर्ताको भावनाको सुनुवाइ हुनुपर्ने उनको दृष्टिकोण थियो । “हामीले कान खोल्नु्पर्यो, आँखा खोल्नुपर्यो । गलत गर्नेलाई कारवाही गर्नुपर्यो । तलका गुनासा सुन्नुपर्यो । बदमासी गर्नेलाई छाड्नुभएन । हामी त्यो गर्छौं, नगरी उपाय छैन,” उनले भने ।