तराईमा कात्तिकमै हुस्सु !

प्रकाशित मिति:

सर्लाही –  सर्लाही सहित तराईका जिल्लामा यस वर्ष कात्तिक महिनाको पहिलो साताबाटै हुस्सु लाग्न सुरु भएको छ । बिहानपख लाग्ने बाक्लो हुस्सु र शीतका कारण तराईमा यस वर्ष चाँडै चिसो पसेको छ । तराई क्षेत्रमा दिउँसोपख मौसम खुले पनि बिहान र बेलुका भने बदली भई हुस्सु लाग्न थालेको हो । अन्य दिनको तुलनामा मङ्गलबार बिहान सर्लाही र आसपासका जिल्लामा बाक्लो मात्रामा हुस्सु लागेको थियो ।

जिल्लाको चुरेभेग, पूर्व–पश्चिम क्षेत्रका लालबन्दी, हरिवन, बागमती तथा सदरमुकाम मलङ्गवासहित दक्षिणी भेगमा बिहान केहीबेर हुस्सु लागे पनि मध्यान्हपछि भने मौसम उघ्रिएर पारिलो घाम लाग्यो । बाक्लो हुस्सुले नजिकैको अर्को सवारी र पैदलयात्री देख्न मुस्किल पर्न थालेपछि पूर्व–पश्चिम राजमार्गसहित भित्री सडकमा सवारी साधन बत्ती बालेर गुड्न थालेका छन् ।

कात्तिकमै हुस्सु लाग्न थालेपछि गोलभेडा लगायतका अन्य तरकारी बाली प्रभावित हुने भएपछि किसान भने निरास भएका छन् । चिसो बढ्न थालेपछि विपन्न तथा गरिब परिवार पनि चिन्तित भएका छन् । तराई क्षेत्रमा चिसोले कठ्याङ्ग्रिएर बर्सेनी धेरैको मृत्यु हुने गरेको छ । मौसम बद्ली भएर गर्मी हटेर चिसो सुरु हुँदा स्वास्थ्यमा समस्या देखिने भएकाले सचेत रहन चिकित्सकले सुझाव दिएका छन् ।