संवैधानिक परिषद्का निर्णय सहमतिमा हुनुपर्ने कांग्रेसको माग

प्रकाशित मिति:

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद बैठकका निर्णय दलीय सहमतिका आधारमा हुनुपर्ने सुझाव दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको पार्टी पदाधिकारी बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने जनाएको हो । संवैधानिक आयोगमा गरिने नियुक्तिलाई पार्टीगत रुपमा हेर्न नहुने जनाउँदै बैठकले यस बारेमा सभापति देउवालाई अडान लिन सुझाएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।

बैठकले अनौपचारिक छलफल गरी सहमति पश्चात मात्र औपचारिक बैठक राख्दा राम्रो हुने सल्लाह दिएको छ । बैठकमा सभापति देउवाले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत अन्य संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा भएको छलफलका बारेमा समेत जानकारी गराएका थिए ।

यसैगरी बैठकमा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवार तय गर्ने सम्बन्धमा समेत छलफल भएको थियो । कांग्रेसले उपनिर्वाचनमा पार्टीको उम्मेदवार टुङ्गो लगाउन र अन्य तयारीका लागि यही कात्तिक ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।त्यसअघि बुधबार नै पदाधिकारी बैठक पुनः बसेर केन्द्रीय समितिमा छलफल हुने कार्यसूचीका बारेमा समेत सहमति गरिने उनले जानकारी दिए । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय बिमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु रमेश लेखक, डा मीनेन्द्र रिजाललगायत उपस्थित थिए ।