सरकारले गरेका कामको नतिजा अब देखिन्छ – उर्जामन्त्री पुन

प्रकाशित मिति:

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारका कामप्रति सामाजिक सञ्लालले फैलाएको भ्रममा नपर्न आग्रह गरेका छन् । मंगलबार पश्चिम नवलपरासीको परासीमा नेकपाले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले विपक्षी र सामाजिक सञ्जालले फिँजाएका भ्रममा नपरी तथ्य बुझेर मात्र सरकार र पार्टीप्रति धारणा बनाउन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

‘झट्ट बाहिरबाट हेर्दा केही नभएको जस्तो देखिए पनि अब सरकारका कामको नतिजा देखिन थाल्छ, हामी पहिलो वर्ष आधार तयार पार्न लाग्यौँ, अब विस्तारै विकास र समृद्धिको नतिजा देखिदै जान्छ’ उनले भने । मन्त्री पुनले सरकारले दीर्घकालीन विकासका आधार तयार पारेको उल्लेख गर्दै विकास र समृद्धिको अग्रगामी पथमा सरकार अगाडि बढेको बताउँदै सरकारले गरेका काम जनतासम्म र्पुयाउनुपर्ने दायित्व पार्टीको भएको पनि बताए ।