सभामुख नहुँदा संघीय संसदका सबै काम प्रभावित

प्रकाशित मिति:

काठमाडौं – प्रतिनिधिसभाका सभामुख नहुँदा संघीय संसदबाट पारित भएका विधेयकहरु प्रमाणित गर्ने काम नै रोकिएका छन् । संसद सचिवालयका कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित पाँच वटा विधेयक प्रमाणिकरण गर्न राष्ट्रपति समक्ष पठाउने काम नै रोकिएको हो । सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नुपर्ने भएकाले संसदबाट पारित गरिएको ती विधेयकहरु प्रमाणीकरणको काम पनि रोकिएको हो ।

सभामुख पद रिक्त हुँदा प्रतिनिधिसभाका सांसदहरुको देश भित्र र बाहिर हुने औपचारिक कार्यक्रमहरु पनि रोकिएको छ । त्यसैगरी सभामुखको निर्देशनमा बन्ने एजेन्डाका आधारमा मात्रै संसदीय समितिका कामहरु अघि बढनुपर्ने संवैधानिक व्यवस्था भएकाले सभामुखको अभावमा संसदीय समितिका गतिविधिहरु पनि ठप्प रहेको छ । संघीय संसदको हिउँदे अधिवेशन बोलाउने आवश्यक तयारी भने गरिएको छ ।उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभाको बैठकको अध्यक्षतामा गर्ने बाहेक अन्य काम गर्न नमिल्ने संवैधानिक व्यवस्था छ ।