के दलहरुमा बृहत सांस्कृतिक शुद्धिकरण जरुरी छैन ?

प्रकाशित मिति:

सिद्धिचरण भटराई –
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुई तिहाईको अभुतपूर्व सरकारले गरेका कामले जनतामा अपेक्षाको तुलनामा निराशाको बाढि ल्यायो । दुईतिहाई नजिकको यो सरकार स्थानिय निकाय देखि प्रदेस र संघीय सरकारमा बाहुल्यातामा भएको बेला सरकारको गति र मति मिलेन भन्ने बौद्धिक वर्ग र जनताको एकै स्वर छ । ठूला क्रान्तिकारी परिवर्तन गर्न सक्ने नेपाली जनताले निष्ठा र आदर्शयुक्त नेता जन्माउन सकेन कि हुर्काउन सकेन ? भनेर अब समिक्षात्मक चिन्तन पनि शुरु भएको छ । लाग्छ कि सदनमा दुई तिहाईको बहुमत भएको सरकार माइतिघर मण्डलामा हुने ससाना लाग्ने तर बिशाल महत्वका प्रश्नहरु देखि तर्सिरहेको छ ।

यस्तो किन भएको छ ? पार्टीहरुको नेतृत्व नै नभएका सामाजिक मुद्धाहरुमा लाखौको संख्यामा जनता उत्रेर सरकारलाई अविश्वास प्रकट गरिरहेका छन । किन ? यसका पछाडि आशाको तुलनामा सरकारले पस्केको निराशा हो । नेपाली जनतालाई आफनो कामले दिशाबोध गराउन सकेको भए सायद जनतामा अझै आशा र भरोस बाँकी रहने थियो ।

यसको कारण केहो त ? आशाको नजरले हेरेको पार्टी र त्यसको नेताको चरित्र आफुले आशा गरे विपरित देखिएको छ । कार्लमाक्र्स, लेनिन, माओ, होचिमिन्ह, फिडेल क्यास्ट्रो, जस्ता आदर्श समाजवादी नेताको अनुयायी भएको बताएर ठीक उल्टो पुँजीवादी, अवसरवादी चरित्र देखाएपछि जनतामा भरोसा गुम्दै जान लागेको छ । दुख गरेर भोटहालेर कार्यकर्ताले नेतालाई जिताउँछ, जितेको केही बर्षमै उसलाई शहर बजारमा महल ठडयाउने चाँजोपाँजोको चिन्ता हुन्छ, केही समयमै त्यो पुरुषार्थ नेताबाट हुन्छ, देखिन्छ, अनि जनताले ठान्छ यो हाम्रो नाम लिएर चुनावी बजारमा आउने व्यापारी पो रहेछ भन्ने ठान्छ । यस्तो ठानेको धेरै भयो, कांग्रेसले जनतामा समाजवादको नारा दियो, यो त पुँजीवादी पो रहेछ भन्ने बुझे, नेकपाले नयाँ जनवाद र समाजवादको नारा दियो, यो नै ठिक होला भन्ने माने भोट दिए जिताए, तर व्यवहारमा भ्रष्टाचार, दुराचार, नैतिक पतनका अनेकौ सृखला देखिएका छन । यसले झन ठूलो निराशा थपेको छ । यसबाट के देखिन्छ भने हामीले पार्टी निर्माण गरेछौ तर पार्टीको चरित्र निर्माण बारे कुनै धारणा नै नबनाएका हौ कि, छलफल नै नगरेका हौकि जस्तो देखियो ।
कांग्रेसले आफुलाई लोकतन्त्रको मसिहा ठान्छ ।

के कांग्रेस लोकतान्त्रिक चरित्रको छ त ? भनेर ठोस छलफलमा बसियो भने कांग्रेसले कति नम्बर पाउला ? सानो छिद्र पाएपछि महाधिवेशन लम्बाउन नेतृत्व लागेकै छ। भातृ संगठनहरु न्यूनतम पुँजीवादी प्रजातान्त्रिक शैली र चरित्रका पनि छैनन । पार्टी पनि त्यसरी संस्थागत भईसकेको देखिदैन । अर्को नेकपा (नेकपा) पनि आफुलाई नयाँ खाले लोकतन्त्रको मसिहा ठान्छ । उसले त आफुलाई पुँजीवादी लोकतन्त्रवादी भन्दा निकै गुणात्मक किसिमको लोकतन्त्रको कुरा गरेर नयाँ लोकतन्त्र वा नयाँ जनवाद भनेको हो । त्यसपछि उसले आफुलाई वैज्ञानिक समाजवादी र साम्यवादी आदर्श बोकेको सचेत पार्टी ठान्छ । के यो पार्टी गुणात्मक रुपले लोकतन्त्रवादी छ ? के गुणात्मक समाजवादी चरित्रको छ ? यसमा यो पार्टीले कति नम्बर पाउला ? यसरी सोँच्ने र बहस गर्ने बौद्धिक वर्ग अहिले निकै पातलिएको छ । यो हामीले संविधानमा संस्थागत गरेको लोकतन्त्र र समाजवादका लागि चुनौति हो । जुन अहिले छरप्रष्ट चुनौतिको रुपमा फैलिन थालि सक्यो । जसले गर्दा तत्काल अर्को वैकल्पिक शक्ति देखा नपरेको अवस्थामा जनताहरुको असंगठीत बिद्रोह बढदै गएको छ । चलिरहेको जनआक्रोस र असन्तोष चुलिँदै गएको वातावरणलाई कुनै स्पष्ट वैचारिक धारको नयाँशक्तिले नयाँ आन्दोलनको रुप दिएमा वैकल्पिक शक्ति निर्माण हुन सक्ने आधार भने बनेको अनुभुति भईरहेको छ ।

चरित्र निर्माणका लागि शुद्धिकरण : – विचारधारा र वाद पार्टीले किन बोक्छ ? मात्र देखाउनका लागि या व्यवहारमा अपनाउनका लागि ? विधानमा माक्र्सवाद लेनिनवाद र जनताको जनवाद सिद्धान्त लेख्दैमा र संविधानमा समाजवाद लेख्दैमा ति प्राप्त हुँदैनन । तीत जनताको जीवनमा परिभिाषित पो हुनु पर्छ । सिद्धान्त व्यवहारविचको यो खाडलले गर्दा जनताले नवजात संविधानले संस्थागत गर्न लागेको संघिय गणतान्त्रीक व्यवस्था माथि नै प्रश्न खडा हुने ठाउँमा पुग्न लाग्दै छौ । यसबाट सहि ठाउँमा फर्किन गर्नु पर्ने काम हो या सिद्धान्त फेर्ने या सिद्धान्त अनुरुप आफनो चरित्र निर्माण गर्ने । पार्टीको चरित्र र नेता र कार्यकर्ताको जीवनशैली विचमा उचित तालमेल बन्यो भने मात्र जनतामा भरोसा जागृत हुन्छ । त्यो पार्टी सुन्दर र सुभाषित, सुविचारित देखिन्छ । त्यसका लागि अहिले भ्रष्टचाचार दुराचार, चारित्रिक पतनको बाटोबाट अनुशासन, चरित्रनिर्माण, व्यवहार निर्माणले एक समाजवादी संष्कृति विकास हुँदै जान्छ । त्यसका लागि नेपालका पार्टीमा महान शुद्धिकरण अभियान आवश्यक छ । पार्टीभित्रको सांष्कृतिक पतन र स्खलित व्यवहार, गैरसैद्धान्तिक रुझान आज एकै पटक सिर्जना भएको होइन, यो लामो निरन्तरतामा नै हुर्किएको अवस्था हो । तर अहिले भने उपलक्धी र चुनौति एकै ठाउँ ठक्कर खाने अवस्थामा पुगेका छन ।  कम्युनिष्ट पार्टी सदस्य एक सामाजिक अभियन्ता पनि हो, रुपान्तरणको एक बैचारिक योद्धा पनि हो, एक समाज वैज्ञानिक पनि हो, उ मात्र पार्टी कार्यकर्ता हैन, उ भिन्न प्रकारको मानवीय मुल्य बोकेको समाजवादी मान्छे हो । तर त्यो व्यवहारबाट कसरी देखिन्छ ? आज यसको नियमन गर्ने र गर्न ल्याकत, नैतिक बल भएको चारित्रिक नेतृत्व आजको आवश्यकता हो ।

शुद्धिकरण कहाँ कहा? जरुरी छ भने आज कम्युनिष्ट पार्टी संगठनको मुख्य काम भनेको पार्टी सदस्यको मृत्युमा झण्डा ओढाउनु, शोक सभामा सहभागि हुन, बैठक बसेर लेवि उठाउनु र नेताहरु आउँदा भाषण गर्ने मञ्च र तल सुन्ने दर्शक दिर्घाको शोभा भईदिनु मात्र भएको छ । दशैँ तिहार, तिज, ल्होसार, छठ, रमजानमा वर्तबस्नु, भडकिलो गरी मनाउनु, कमरेडका छोराछोरीको विवाहमा दाईजो वा दक्षिण छोडन जानु, पुग्नु, पुग्न नसके पार्टीको ठूलो काम चुकेको महसुस गर्नु भएको छ । उ आज क्रान्तिकारी रुपमा सोच्थ्यो भने उसका पार्टी कमिटीका एजेण्डा वैचारिक र राजनीतिक काम, सांगठनिक काम र विकास निर्माणका काम गरेर ३ कोटीमा विभाजित गरेर गर्न सकिने तमाम कामहरुको विभाजन गरी काम लाग्नु पर्ने थियो । जसले पार्टीले दिएको कार्यदिशा सरकजनारले पुरा गरे नगरेको मुल्यांकन गर्ने, सरकारलाई सघाउने र जनपरिचालित गर्ने, वैचारिक र राजनीतिक रुपमा तिनको बिश्लेषण गर्ने गराउने, नयाँ नीतिहरुमा बहस छलफलका लागि आफुलाई हरदम तयार राख्ने हुनुपर्ने हो ।

मेरो आफनै अनुभव के छ भने : मैले छैटो जिल्ला कमिटीको कार्यकालमा पार्टीका रुपन्देही कै तत्कालिन केन्द्रिय सदस्यले एक जना केन्द्रिय कायलयकी कर्मचारीलाई भगाएर १४ बर्ष सम्म गुपचुप राखेको, गुपचुपमै राखेको छोराको नाम र छोराले पढने स्कुलको नामसहित जनआस्था साप्ताहिकले समाचार छापेपछि हाम्रा पार्टीका दाजु कमरेडहरुले कतिवति भाउजु राख्न पाउने ? भनेर प्रश्न उठाएँ । त्यसपछि ति केन्द्रिय सदस्य रुपन्देहीको बैठकमा आउन छाडे, पार्टीले उनलाई कारवाही गरेन बरु पुरस्कृत गरिरह्यो । अर्को स्थायी कमिटी सदस्य रुपन्देहीमा चुनाव लडन आए नआउँदै विरोधीले उना ३ वटी श्रीमती भएको भनेर अर्को कुनै जिल्लाबाट लखेटिएर आएको भनेर समाचार लेखे । मैले क्षेत्रिय कमिटीमा तिनै स्थायी कमिटी बैठकमै यो कुरा के हो भनेर सोँधेँ उनले कुनै जवाफ दिएनन र प्रश्न सोधे वापत मलाई विभिन्न बहानामा प्रताडित गर्न थालियो । तर त्यति नै खेर तल्ला कमिटीका कतिपयलाई हामीले नै बहुविवाहमा त्यतिखेर कारवाही गर्यौं । अहिले भने बहुविवाहलाई पार्टी भित्रै मान्यता दिएको जस्तो देखिन्छ ।

त्यस्तालाई कारवाही त के यो कुन गुटको हो भनेर पहिला हेरेर अपराधका कारवाही शुरु गर्ने मनोबृति छ । यसले समाजवादी मान्छे त के मान्छेलाई मान्छेकै रुपमा रहन नदिने खतरा बन्दै छ ।  अर्को एउटा घटना छ, जमिन कस्को जोत्नेको भनेर नारा लगाएर सत्तामा पुगेको पार्टीले जमिन्दारको हदबन्दी बढिको जग्गामा खनजोत गरेका किसान आदीवासीका झुप्रामा आगो लगाएर त्यही जमिन जमिन भएकै अरु मानिसलाई अवैध र अनधिकृत रुपमा बेचेर खाने जनवर्गिय संगठनका नेतालाई कारवाहीको लागि माग गर्दा कारवाही गर्नुको साटो संरक्षण गरियो, २० बर्ष देखि पार्टी सदस्य भएको मानिसलाई किन निकाल्ने भनेर । अन्य अपराधिक घटनाका कारण हामीले नै पार्टीबाट निष्कासन गर्न बाध्य भयौं । यस्तो वर्गहित बिरोधी, अपराधिक र असामाजिक व्यवहारलाई संरक्षण गर्दाको परिणाम त्यही व्यक्ति कै अगुवाईमा दुई होनहार युवाको हत्या गरेर चुकायो ।

शुद्धिकरण शैली कस्तो ? पार्टी निर्माणमा शुद्धिकरणका बिश्वव्यापी अनुभव छन् । समाजवादकालिन रुसमा१९३७ देखि ३८ मा स्टालिनको नेतृत्वमा महान शुद्धिकरण अभियान चल्यो । चिनमा क्रान्ति सम्पन्न भएको १७ बर्ष पछि १९६६ देखि ०७६ सम्म महान साष्कृतिक क्रान्ति माओको नेतृत्वमा सञ्चालित भयो । तर यी दुवै महान उद्देश्य भईकनपनि विवादित बने । यी किन विवादीत भए भने यी ठाउँमा क्रान्तिकारीताका नाउँमा लाल नोकरशाहीपन जन्मियो । चिनमा भएको सांष्कृतिक क्रान्तिले विश्वव्यापी वैचारिक बहस सिर्जना गर्यो, त्यो वास्तवमा समाजवादी चरित्र निर्माण बारेकै एक बिशाल बहस थियो तर सत्ताको चरित्र आफु प्रतिकुल विचारका लाई षडयन्त्र र घुसपैठ देख्ने नाउँमा धेरै दुईलाइन संघर्षका योद्धाहरुलाई दवाइयो र दफन समेत गरियो, यसले सांष्कृतिक क्रान्तिको खास मकसद प्राप्त हुन दिएन, अन्तत असफल भएर टुंगीयो । यसकारण शुद्धिकरणको शैल ी भने नितान्त जनवादी र जनअनुमोदित हुन जरुरी देखिन्छ ।
सुद्धिकरण अभियान कानुनी औपचारिकताले मात्र संभव छैन यो सामाजिक अभियान पनि हुन जरुरी छ । कम्युनिष्ट हुनु भनेको समाजको उच्च नैतिक धरातल भएको व्यक्ति, वैज्ञानिक समाजवादी चेत भएको मानिस, समाजलाई रुपान्तरणको एक अभियन्ता हुनु पनि हो । अहिले पार्टी भित्रका अपराधिहरुलाई दलभित्रैबाट लुकाउने, चोख्याउने र बचाउने प्रबृति छ यो सबैभन्दा घातक छ । अपराध भन्दा दलको सदस्यता ठूलो र उसले दिने एक मतको महत्व बढि ठानिएको छ । यो लोकतन्त्र प्रतिको लघुतावोध हो । अहिले तेश्रो बिश्वका मुलुकहरुमा हुर्किएको दलालपुँजीवादका कारण नवोदित लोकतन्त्रहरुमा चलिरहेका व्यवस्थाहरु भ्रष्टीकरणको शिकार भएका छन । क्रान्तिकारी समाजवादीहरु पनि बिस्तारै दलालपुँजीवादका प्रभावका कारण बिग्रदै स्खलित हुँदै जनताबाट अलगथलग हुन पुगेका छन । यसको मुल कारण अन्तरपार्टी सांष्कृतिक जागरणमा आएका ह्रास हो ।

नेताहरुले चुनाव लडने पैसा कहाँ बाट आउँछ ? चन्दाको पारदशीैता केहो ? एनसेल काण्ड, तारागाउँ रिजेन्सी होटल काण्ड, सार्वजनिक जग्गाहरुको लुटपाट, दलाली भ्रष्टाचारी, शिक्षामा चरम माफियाकरण यी सबै दलहरु भ्रष्ट भएका कारणले घटेको देखिएको छ, हुँदाहुँदा अदालत र अख्तियार समेत घुसकाण्डमा फसेपछि मुलुक भ्रष्टाचारको दुर्गन्ध कति छ स्वाभाविक रुपमा बुझन सकिन्छ । यसको प्रभाव तल वडातहको जनप्रतिनिधी सम्म फैलिएर संस्थागत रुप लिने अवस्था आईनै सक्यो ।  एमालेले बोक्ने गरेको जनताको बहुदलिय जनवादमा जनवादी क्रान्ति पछिका ३ चरण बारे बडो स्पष्ट रुपमा उल्लेख छ, त्यो राज्यसत्त(कार्यपालिका, न्यायपालिका, व्यवस्थापित र सेना) ाको लोकतान्त्रिकरण, पार्टी संगठनहरुको लोकतान्त्रिकरण र आन्दोलनको लोकतान्त्रिकरण । अवधिका हिसावले पनि ३ अवधि उल्लेख छनः जनवादी सत्ताको संस्थागत विकासको अवधि, उत्पादक शक्तिको विकास र राष्ट्रिय पुँजी निर्माणको अवधि र समाजवादको तयारी गर्ने अवधि । यी नवगठीत नेकपाका लागि पनि उत्तिकै मार्गदर्शक छन । अहिलेको पार्टी जबजले दिशाबोध गरेको बाटो पनि हिँडेको छैन र नयाँ बाटो निर्माणको लागि बहसमा पनि आएको छैन । यसर्थ यो दुईतिहाई दिशाहिन हुने खतरा यत्तिकै बढदै गएको छ । यही कारण सरकार अलोकप्रियताको सिखर चम्दैछ ।  महान शुद्धिकरणको रुपमा नेपालमा पनि नेपाली समाजलाई नयाँ ढंगले पुर्नगठीत गर्न दल, सरकार, सामाजिक संगठनहरुमा दिर्घकालिन अभियान चल्न अति आवश्यक छ ।

राजनीति र बुद्ध : राजनीति, समाज, अर्थशास्त्र, मानवशास्त्रमा बुद्धको महान शिक्षाको प्रभाव छ । आज हाम्रो राजनीतिमा पनि बिकृति, बिसंगति, भ्रष्टाचार, दुराचार, व्यभिचार हावि छ । त्यसबाट देशभरका साधारण जनता निराश, आकुल र व्याकुल बनेका छन । निरासा कुण्ठाले घर गरेको छ । त्यसको समाधानका लागि ठोस बहस भने कतै देखिदैन । त्यस समस्याको उठान र बैठानबारे थाहा नभएर लिन नचाहेर ? आशाको छिद्र देखिँदैन । मलाई लाग्छ, जहाँ समस्या छ समाधान पनि त्यही उपस्थित हुन्छ । जहाँ रोगी त्यही जडिबुटी हामीकहाँ उखानै छ ।  बुद्धको बुद्धत्व वैज्ञानिक र आत्मीक विकासले निर्देशित छ । उनले ७ बर्ष को कठोर तपस्या, ध्यान साधनाबाट ४ सत्य पत्ता लगाए, त्यो हो ः संसार दुखमय छ, दुख उत्पत्तीको कारण छ, दुखको निरोध नै समाधान हो, समाधानको मार्ग छ ।
हामीले राजनीति, समाज, अर्थनीति, संष्कृति र संष्कारका दुख पनि यसै गरी बुझन र स्वीकार्न सक्नु पर्छ । राजनीति भने पछि पार्टीका दुख पनि बुझन पर्छ । पार्टीमा दुख छ अर्थात विकृति छन, विकृति उत्पत्तिको कारण छ, यस विकृतिको समाधान छ, समाधानका मार्ग छन भन्ने हामीले बुझनु पर्दछ ।

बुद्धले दुख भएको स्वीकार्नु पहिलो पाटो भएर नै यसलाई दुख सत्य भन्नु भयो । हामीले हाम्रो राजनीति विकृत छ भन्ने भन्ने कुरा आजको दिनमा पहिले स्वीकार्न सक्नु पर्यो । स्वीकारभाव जागृत गरेर । नेपालका पार्टीहरु भित्र मौलाएको विकृति उनिहरुको विनासको कारण हो । मानिस स्वयंभित्र मौलाउने कुसंस्कार, दुष्चरित्रउसको विनासको कारण हो । यही चिन्ता अहिले देशमा दुईतिहाई बहुमतको सरकार चलाईरहेको कम्युनिष्ट पार्टीमा छ । पहिलो पार्टी नेकपा भएकैले हामीले नेकपाका दुख पनि बुझन सक्नुपर्छ ।  यसलाई बुझन बुद्धले आर्यआष्टांगीक मार्ग सुझाए जस्तै घटना, परिवेश, परिस्थीतिलाई त्यही स्वरुपमा बुझन जरुरी छ । सुखको मार्ग, मुक्तिको मार्गका यी आर्यमार्ग लाई सम्यक मार्ग पनि भनिन्छ हामीले त्यो सम्यकताको खोजिगर्न जरुरी छ । सम्यक दृष्टि,सम्यक संकल्प, सम्यक कर्म, सम्यक आजिविका, सम्यक प्रयास, सम्यक स्मृति र सम्यक समाधी । उत्तेजना, आवेग, कुण्ठा, आग्रह र पुर्वाग्रह, काम क्रोध, मोहबाट मुक्त एक बिराट दृष्टि जागृत गर्ने नेतृत्व क्षमता आज साच्चिकै आवश्यक भैसक्यो । समाधान यसैमा छ । संगठनका हुन या पार्टीका, समाजका हुन या व्यक्तिका साना र ठूला हरेक समस्याहरुलाई घटनाहरुलाई प्रज्ञा जगाएर हेर्ने संष्कृति निर्माणको बाटो हिड्नु पर्ने बेला भईसक्यो ।

बुद्धले संघ, प्रज्ञा,धम्म(आचरण र संष्कार)को तीन रत्न भने झै दललाई संघ मानेर अघि बढदा यसको प्रज्ञा र धम्म पनि त परिभाषित हुनु पर्छ । संघ र सामान्यका लागि अभिधम्भ, विनयका नियमहरु उल्लेख गरिए जस्तै कम्युनिष्ट हुन वा समाजवादी हुन यी नियमहरु पालना गरेको हुनु पर्ने र यी नियम पालना नगर्ने व्यक्ति पार्टीका जिम्मेवारीमा नरहने भन्ने बिधि नबन्दा यसले भिमकाय विकृतिको रुप लिएको छ ।  बुद्धका विचार र नियमहरु पालनामा बुद्ध संघमा आएको विचलनहरुबाट जोगिन विभिन्न संगायनहरु भएका छन । संगायनहरुमा भएका विवादहरुका कारण बुद्ध धर्मका विभिन्न शाखा सम्प्रदाय बनेका छन । थेरवाद, महायान र बज्रयान यी सबै शुद्धिकरण र संष्कार पालनामा आएका मतभेदहरुकै कारण जन्मेका हुन । समाज त्यो बेला देखि वैचारिक सांष्कृतिक शुद्धिकरण र जागरणको विभिन्न क्रमिकता र क्रमभंगता पारगर्दै यहाँ आई पुगेको छ ।  अबको आवश्यकता अहिले सांष्कृतिक पतन, बैचारिक दिवालिया, घोर अवसरवाद, चारित्रिक स्खलन, भ्रष्ट आचार र व्यवहार बिरुद्ध नयाँ आन्दोलनको हो जसले समाजवादको नयाँ भ्रुण नेपालमा जन्माउन प्रेरित गर्नेछ ।