कास्कीमा चुनावी सरगर्मी, उमेदवार छनोटमै दललाई सकस

प्रकाशित मिति:

कास्की – कास्की क्षेत्र नम्बर २ मा आगामी १४ मंसिरमा हुने उपनिर्वाचनको मिति निजिकिएसँगै राजनीतिक पार्टीहरुमा चुनावी सरगर्मी सुरु भएको छ । मुख्य प्रतिस्पर्धीकारुपमा देखिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले यस उपनिर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय बनाउदै ‘मिनी जनमत संग्रह’ को रुपमा अथ्र्याउन थालेका छन् । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधनपछि खाली रहेको कास्की क्षेत्र नम्बर २ ले सिंगो नेपालकै ध्यान केन्द्रीत गरेको छ । स्वर्गीय नेता अधिकारीले लगातार तीन पटकसम्म संसदीय चुनाव जितेको सो क्षेत्रमा जुनसुकै हालतले पनि निर्वाचन जितिछाड्ने दाउमा काँग्रेस छ । तर, आफ्नो पकडको निर्वाचन क्षेत्र भएका कारण लामो समयदेखि नेकपाले आफ्नो विरासत कायम गर्दै आएकाले कुनै पनि हालतमा यो क्षेत्र गुम्न नदिने पक्षमा नेकपा देखिन्छ । बिगतको राजनीतिक विरासत कायम गर्ने र भत्काउने दाउमा रहेका नेकपा र नेपाली काँग्रेसले निर्वाचन हुने मिति भन्दा तीन महिना अघिदेखि जोडघटाउ र रणनीतिक योजना बनाउन लागिपरेपनि उमेद्वारी सिफारिस प्रक्रियालाई निर्विवादित बनाउन सकेनन् ।

निर्वाचनका लागि क्षेत्रबाट उमेदवार सिफारिस गर्ने प्रक्रियामा नै कास्की कांग्रेसमा विवाद देखिएको छ । केन्द्रले तीन जनाको नाम सिफारिस गर्न निर्देशन गरेपनि १६ जना आकाँक्षी देखिएपछि काँग्रसको विवाद सतहमा आएको हो ।

पार्टीको आधिकारिक उम्मेदवार छनौट गर्न बसेको कास्की क्षेत्र नम्बर २ को बैठककै क्रममा आकांक्षीहरुले अर्काको अस्तित्व नै अस्वीकार गर्दै टसमस नगरेपछि विवाद छताछुल्ल भएको हो ।

केन्द्रको निर्देशन अनुसार तीन जना उमेदवारको नाम सिफरिस गर्न कास्की काँग्रेसको मंगलबार बसेको बैठकले १६ जना आकांक्षी सहमतिमा टसमस नभएपछि सर्वसम्मत नाम सिफारिस गर्न सकेन । नाममा सहमति नभएपछि अब, जिल्लाले सबै नाम केन्द्रमा पठाउने जनाएको छ ।

क्षेत्रबाट तीन/तीन पटक बैठक राखेर सहमतिको प्रयास गरेपनि सहमति नभएपछि जिल्लामा पठाएको कांग्रेसबाट क्षेत्र नम्बर २ का सभापति माधव बास्तोला ‘मधु’ ले बताए । ‘तीनतीन पटक बैठक राखेर सहमतिको प्रयास गर्‍यौं, कोही पनी टसमस नै भएनन्,’ उनले भने, ‘सहमति नभएपछि जिल्लामा पठाउनुको विकल्प रहेन ।’ क्षेत्रबाट जिल्लामा सबै उमेदवारको नाम पठाएपछि जिल्लाले पनि सहमतिको प्रयास गरेको थियो । तर, उम्मेद्वारमध्ये ११ जनाले नाम केन्द्रमा पठाउनु पर्ने माग गरेपछि कास्की कांग्रेसले सबै नाम केन्द्रमै पठाएको छ । जिल्ला सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको बैठकमा उम्मेदवार मध्येका ११ जनाले आफूमध्ये जसलाई उम्मेदवार बनाएपनि सहयोग गर्ने वचनवद्धता जनाएका थिए । तर, उम्मेदवारका दावेदार देवराज चालिसेलाई आफूहरुले स्वीकार नगर्ने बताएपछि जिल्लाले राय र सुझाबसहित केन्द्रमा सवै नाम पठाएको हो ।

अन्तरघातको खतरा बढ्यो कांग्रेसमा तीन जना उम्मेदवारको नाम सिफारिस गर्न नसकेसँगै अन्तरघातको खतरा बढेको छ । बिगतका दिनहरुमा भूसको आगोजस्तो दन्किएको अन्तरघात यस पटकपनि दोहोरिने लगभग निश्चित भएको छ । १० हजार रुपैयाँ तिरेर उम्मेदवारीको लागि फाराम भरेका आकाँक्षीहरुले ३ जनाको मात्र नाम सिफारिस गर्ने क्षेत्रीय समितिको प्रयास विफल बनाएपछि आगामी चुनाबमा आन्तरिक द्धन्द र अन्तरघात दोहोरिने संकेत देखिएको हो । ११ जना आकांक्षीले आफूहरुमध्ये जसलाई चुनेपनि स्वीकार्य भएको तर देवराज चालिसे स्वीकार्य नभएको बताउदै असहमति जनाएसँगै यसको संकेत गर्दछ ।

क्षेत्रले तीन पटकसम्म राखेको क्षेत्रीय समितिको बैठकमा उम्मेदवारहरुको दबाबकै कारण क्षेत्रीय सभापति बास्तोलाले कुनै निर्णय गर्न सकेनन् । उनी उम्मेदवार बन्न खोज्ने १६ जनाकै नाम जिल्लामा पठाएर आफू चोखिए । कांग्रेस जिल्ला समितिको बैठकले पनि आफूलाई केन्द्रले दिएको निर्देशन अनुसार उम्मेदवार छान्ने अधिकार नभएको भन्दै क्षेत्रीय समितिको निर्णयलाई मंगलबार केन्द्रमा पठाउने निर्णय गर्‍यो । ‘क्षेत्रीय समितिले पठाएको दुबै पत्र र जिल्लाको राय लेखेर केन्द्रलाई पठाउने निर्णय गर्‍यौँ’, कास्की कांग्रेसका सचिव सुदीपमोहन भट्टराईले भने, ‘अब निर्णय गर्ने अधिकार केन्द्रलाइ छ ।’

१० हजार तिरेका १६ जना आकांक्षी कांग्रेसले उमेदवार सिफारिसमा सहज होस् भनेर यस पटक सम्भावित उम्मेवारको सूचीमा पर्नको १० हजार तिर्नुपर्ने व्यवस्था गरेको थियो । पार्टीले बनाएको मापदण्ड अनुसार १० हजार रुपैयाँ तिरेर उमेदवारको सूचीमा सूचीकृत गर्ने आकांक्षीहरु १६ जना देखिएका थिए । जसमा कांग्रेसमा लामो समयदेखि राजनीति गर्दै आएका खेमराज पौडेलदेखि पछिल्लो पुस्ताका राजनीतिमा सक्रिय कार्यकर्तासम्म छन् । यसअघि रवीन्द्र अधिकारीकै प्रतिस्पर्धी देवराज चालिसे, पहिलो संविधानसभाको निर्वाचनमा रवीन्द्र अधिकारीसँग पराजित भएका सोभियतबहादुर अधिकारी, पूर्वराज्यमन्त्री महादेव गुरुङ पनि यसपटक कांग्रेसबाट उमेदवार बन्ने दाउमा छन् । यसैगरी कांग्रेसबाट क्षेत्र नम्बर २ का सभापति माधव बास्तोला ‘मधु’, महासमिति सदस्य ऋषि काफ्ले, कृष्ण कार्की, वीरेन्द्रनारायण बिजुक्छे, गुरु बराल, विजय आचार्य, केशव निर्दोषी, केदारप्रसाद तिवारी, विमला भण्डारीले समेत उमेदवारीमा आकांक्षा देखाएका छन् ।कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डे, खेमकुमारी बराल, रंगिला आचार्य पनि उम्मेदवारको आकांक्षकारुपमा देखिएका छन् ।

नेकपा पर्खर हेरको अवस्थामा लगातार तीन संसदीय निर्वाचनमा आफ्नो बर्चश्व कायम राख्दै आएको नेकपाले यस पटकको निर्वाचनमा पनि योग्य र जनपक्षीय उमेदवारलाई चयन गर्ने योजना बनाएको छ । कांग्रेस भित्रको किचलोलाई नियाल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी भित्र उमेदवारको खोजी गरिरहेको छ । ‘काँग्रेस भित्रको उमेदवार छनौंटमा देखिएको किचलो र उमेदवारहरुको प्रभावलाई देखेर हामी उत्साहित भएका छौं’ नेकपाका एक जिल्ला स्तरका नेताले भने, ‘हामीले आफूले गरेका राम्रा र प्रभावकारी कार्य जनस्तरमा बुझाउन नसकेर कमजोर हौं की जस्तो लागेको अवस्थामा काँग्रेस भित्रको अन्तरसंघर्ष देखेपछि हामीले चुनाब जित्नेमा दुइमत छैन ।’

नेकपा यतिबेला संगठन सुदृढीकरण अभियानमा छ । पूर्वएमाले र पूर्वमाओवादी केन्द्र मिलेर बनेका तल्लो कमिटीहरुलाई एकजुट बनाउनेतर्फ नै नेकपा केन्द्रित रहेको छ । नेकपामा टिकट कसले पाउने भन्नेमा तँछाडमछाड् पनि छैन । वामदेव गौतम कास्कीबाट निर्वाचन नलड्ने करिब निश्चित नै भएको छ । नेकपाबाट स्वर्गीय रवीन्द्र अधिकारीको धर्मपत्नी विद्या भट्टराईको नाममा चर्चामा भए पनि उनले पछिल्लो समय चुनाब लड्ने की नलड्ने भन्ने प्रष्ट नभएका कारण केही कौतुहलता छ । तर,कांग्रेसमा जस्तो नेकपामा दर्जनौ आकांक्षी भने छैन । चुनाबी मिति नजिकिएसँगै केही आकांक्षीको नाम भने नेकपामा पनि देखिएको छ । नेकपाबाट सम्भावित उमेदवारहरुमा तुलबहादुर गुरुङ, नेकपा कास्कीको इन्चार्जको जिम्मेवारीमा रहेका राजकाजी गुरुङ ‘करन’ र सोमनाथ अधिकारी प्यासीको नाम अग्रपंक्तिमा छ । यस्तै श्रीनाथ बरालले पनि निर्वाचनमा उमेदवार बन्ने चाहेका छन् । उम्मेदवार छनौटको लागि नेकपाले ९ गते बैठक राख्दै छ ।