बैतडी डोजर आक्रमण : छानबिन समिति घटनास्थल पुग्यो

प्रकाशित मिति:

काठमाडौं – बैतडीमा डोजरले नागरिकमाथि आक्रमण गरिएको घटनाको छानबिन गर्न गठन भएको समिति घटनास्थल पुगेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले गठन गरेको पाँच सदस्यीय छानबिन समिति बुधबार दशरथचन्द नगरपालिका-९ ग्वाल्लेक पुगेको हो । समितिले छानबिन गरी ४८ घण्टाभित्र प्रतिबेदन बुझाउने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । सोमबार भएको घटनाको सर्बत्र आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले मंगलबार छानबिन समिति गठन गरेको थियो ।

अंशबण्डा नमिलेकोले केही समय सडक खन्ने काम रोक्न माग गर्दै सोमबार स्थानीयले बिरोध गरेपछि डोजर चालक किशोर बोहोराले स्थानीयमाथि डोजर चलाएका थिए । उनी मंगलबार नै पक्राउ परिसकेका छन् । डोजर आक्रमणबाट स्थानीय गौरा जोशीलगायत केही स्थानीय घाइते भएका थिए । गम्भीर घाइते गौरालाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो । तर, थप जाँच पश्चात समस्या नदेखिएकोले अस्पतालले उनलाई डिस्चार्जको तयारी गरेको प्रजिअ पौडेलले बताए ।