उपनिर्वाचनमा जनमोर्चाका लागि सिट छाड्न नेकपा सहमत

६ कार्तिक २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – मंसिर १४ गते हुने उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन हुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास वालुवाटारमा दुवै पार्टीका नेताबीच भएको छलफलमा चुनावी गठबन्धन गर्ने सहमति भएको छ । लिखित सहमति नभएपनि मौखिक रुपमा यसअघिको चुनावमा जुन पार्टीले जहाँ जितेको थियो, त्यही सिटमा समर्थन गर्ने गरी गठबन्धन गर्ने सहमति भएको राजमोका अध्यक्ष चित्रबहादुर केसीले लोकान्तरलाई जानकारी दिए ।

यसअघिको प्रदेशसभा सदस्य निर्वाचनमा वाग्लुङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका थिए । उनको निधन भएका कारण गण्डकी प्रदेशसभा सिटमा उपनिर्वाचन हुँदैछ । यसअघि जितेको सिटमा नेकपाले जनमोर्चालाई सघाउने गरी छलफल भएको अध्यक्ष केसीले बताए ।

यसअघिको निर्वाचनमा नेकपाले जितेका सिटमा जनमोर्चाले पनि नेकपालाई सघाउने सहमति भएको जनाइएको छ । छलफलमा दुवै पार्टीका अध्यक्ष ओली र केसीसहित प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई तथा राजमोका महासचिव जनकराज शर्मा, सचिव हिमलाल पुरी र पूर्व सचिव कृष्ण अधिकारी लगायत नेता सहभागी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया