सिद्धार्थनगर नगरपालिकाद्वारा बजार अनुगमन : म्याद सकिएका खाद्यवस्तु बरामद

प्रकाशित मिति:

भैरहवा – नगर क्षेत्रभित्र रहेका किराना, खाद्यान्न, होटल तथा मिठाई पसलहरुमा सिद्धार्थनगर नगरपालिकाले अनुगमन गरेको छ । नगरपालिकाको अनुगमन समिति वडा नम्बर ५ र ६ मा रहेका खाद्य पसल तथा होटलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद सकिएका खाद्यवस्तु भेटिएपछि बरामद गरिएको अनुगमन समिति संयोजक एवं सामाजिक विकास शाखा अधिकृत यादवप्रसाद सापकोटाले जानकारी दिए । ‘हामीले बढी ग्राहकको भीड लाग्ने खाद्यान्न र मिठाई पसलहरुलाई लक्षित गरेर अनुगमन गरेका थियौं । त्यसक्रममा अधिकांश पसलहरुमा केही न केही त्रुटी पाइयो । केहीमा म्याद सकिएका वस्तु समेत भेटिए । त्यस्त वस्तु जफत गरेका छौं । सम्बन्धित व्यक्तिलाई सचेत समेत गराएका छौं’, सापकोटाले भने । अनुगमन समितिले खाद्यान्न पसल तथा होटलहरु गरेर १० वटामा अनुगमन गरेको थियो । त्यसमध्ये एउटामा बाहेक अरु सबैमा त्रुटी भेटिएको थियो । वडा नम्बर पाँचमा रहेको शुभलाम किराना स्टोर्समा सबैभन्दा बढी म्या सकिएका खाद्यवस्तु पाइएको थियो ।

शुभलाभमा घ्यू, गुल्कोज, चक्रतेल, विस्कुट, कल्फेक्स, बालबिटा, कन्प्लेक, फेन्टा, हर्बल, भोला लगायतका सामाग्री बरामद गरिएको छ । उक्त स्टोर्समा मात्रै २० हजार बढीको आखाद्यवस्तु बरामद गरिएको अनुगमन समितिले जनाएको छ । यस्तै, वडानम्बर ६ मा रहेको कृति किराना पसलबाट पनि हजारौं रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरिएको छ । उक्त पसलबाट नमकिन, मस्र्यौरा, भुजी बरामद गरिएको हो । सोही वडामा रहेको विरेन जनरल स्टोरबाट फेसवास, बोडी लोसन लगायतका सामाग्री बरामद गरिएको छ । यस्तै, वडानम्बर पाँचमा रहेको अमन किराना पसल, आनन्द किराना स्टोर्सलाई मूल्य सूची राख्न सचेत गराइएको छ । यस्तै, अशोक जनरल स्टोर्सलाई खरिदविक्री विल लिनेदिने गर्न सचेत गराइएको छ । सुरज एण्ड कृष्ण किराना पसललाई नवीकरण गरी मूल्य सूचि राख्न निर्देशन गरिएको अनुगमन समिति सदस्य एवं उपभोक्ता मंच नेपालककी कार्यबाहक अध्यक्ष भगवती भण्डारीले जानकारी दिइन् ।

वडा नम्बर ६ मा रहेको चिया पसललाई सरसफाईमा ध्यान दिन, किचन सफासुग्गर राख्न सचेत गराइएको छ । उक्त पसलका संचालकलाई १५ दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन समेत गरिएको छ । यस्तै, बिशाल मिष्ठान भण्डारलाई किचनको सरसफाईम ध्यान दिन निर्देश्न दिइएको भण्डारीले बताइन् । नगरपालिकाले अब अनुगमनलाई प्रभावकारी बनाउने भएकाले म्या सकिएका सामाग्री विक्रीवितरण नगर्न, मूल्य सूची प्रष्ट ग्राहकले देख्ने गरी राख्न, पसल नवीकरण गर्न, सरसफाई गर्न अनुरोध गरेको छ । अनुगमनमा नगरपालिकाका बरिष्ठ अधिकृत विवके खनाल, जिल्ला प्रशासनबाट पुरुषोत्तम नेपाल, बाणिज्य कार्यालयबाट नारायण पन्थी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट शिखर आचार्य, उद्योग ब्यापार संगठनका बरिष्ठ उपाध्यक्ष गिरिषचन्द्र त्रिपाठी, सिद्धार्थ उद्योेग बाणिज्य संघका सदस्य मंगल भण्डारी, नेपाल प्रहरी लगायतको सहभागिता थियो ।