भागवण्डा र दम्भको कारण नव प्रभात सामुदायिक वनको विवाद उत्कर्षमा

प्रकाशित मिति:

कमल चौधरी /कपिलबस्तु – यस क्षेत्रकै पुरानो एवं बाणगंगा नगरपालिकाकै उत्कृष्ट नव प्रभात सामुदायिक वनमा लामो समय हुँदा समेत निर्वाचन सम्बन्धी विवाद चरम उत्कर्षमा पुगेको छ ।  केही व्यक्तिहरुको हठ, दम्भ र स्वार्थका कारण संस्था नै धरापमा पर्ने अवस्थामा पुगेको छ भने उपभोक्ता समुह बिचको किचलो, आन्तरिक झगडा र राजनैतिक हस्तक्षेपको कारण लामो समय भईसक्दा पनि नयाँ नेतृत्व पाउँन सकेको छैन । निर्वतमान अध्यक्ष जगन्नाथ भण्डारीले कार्यसमिति सदस्य नै नभएको व्यक्ति अध्यक्षको पदमा दावी गर्दै आएको र राजनीतिक पार्टीको दाववको कारण विवाद उत्कर्षमा पुगेको बताउँनुभयो ।

बाणगंगा–८ बण्डौलीमा अवस्थित समुदायिक वनमा यसरी पटक– पटक निर्वाचनको लागी बैठक र बहस भए पनि नयाँ नेतृत्वको टुङ्गो लाग्न नसकेपछि मंगलबार नव प्रभात समुदायिक वन उपभोक्ता समितिका लेखा समिति तथा निर्वाचन समिति संयोजक कुल राज पौडेलको संयोजकत्वमा प्रतिनिधी मुलक भेला सम्पन्न भएको हो ।  उक्त भेलाले सामुदायिक वनको नयाँ नेतृत्व चयनमा परेको समस्यालाई समाधान गर्न विधान संसोधन गर्न परेको उपाध्यक्ष सन्त बहादुर पौडेलले बताउँनुभयो । विधान संसोधनका लागी जगन्नाथ भण्डारीको संयोजकत्वमा ७ सदस्यीय विधान संसोधन मसौदा समिति गठन गरेको छ ।

जसको सदस्यहरुमा चेतनारायण भण्डारी, गुणादेवी पन्थी, राधीका पौडेल, राधा गैरे र विष्णु गिरी रहनुभएको छ भने एक जना कानुन विज्ञ यसै समितिले अनुमोदन गर्ने निर्णय गरेको उपाध्यक्ष सन्त बहादुर पौडेलले जनकारी दिनुभयो ।  हुन त कपिलबस्तु जिल्ला वाणगंगा नगरपालिका जिल्ला भित्रकै नमूना र वौद्धिक तथा शिक्षित समुदायको वसोवास रहने क्षेत्र हो । तर पनि यस्ता सामुदायिक संचनाहरुमा राजनीतिक भागवण्डा र दम्भको कारण यस्ता धेरै क्षेत्रहरु छन् जहाँ न्यायोचित र नीतिगत अभ्यासलाई पर राखेर सिमित व्यक्तिहरुले निर्णय गर्ने पारिपाटी भएकोले अलि लाजमर्दो अवस्था समेत सृजना भएको देखिन्छ । अतः यथासिघ्र संरचनाहरु परिचालन गर्ने नीतिगत अभ्यासहरुलाई आत्मसाथ गर्नु पर्ने देखिन्छ । यस विषयमा बौद्धिक व्यक्तिहरुको सकरात्मक पहल छिट्टै हुन जारुरी छ ।