​‘गाँजा’ र ‘बियर’ शब्द म्युट गरेर पुनः अपलोड गरेको गित पनि २४ घण्टा नपुग्दै हटाए दुर्गेशले

प्रकाशित मिति:

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापाले ‘गाँजा’ र ‘बियर’ जस्ता शब्द म्युट गर्दै अपलोड गरेको ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत पुनः हटाएका छन् । गीतमा परिमार्जन गरेर पुनः अपलोड गरेको गीत ‘डन आयो डन’ लाई उनले हटाएका हुन् । यसअघि उनले प्रहरीको आग्रहमा ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत पनि हटाएका थिए । ‘ह्याप्पी तिहार’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएपछि विवादमा मुछिएको थियो । सो गीत विवादमा आएसँगै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेपछि मंगलबार प्रहरीले थापालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरी नियन्त्रणमै रहेका बेला उनले सो गीत हटाएका थिए ।

समाजमा असर पर्ने शब्द हटाउने प्रतिवद्धतासहित छुटेका उनले लगत्तै गाँजा र बियर शब्द म्युट गरेर पुनः अपलोड गरेका थिए । ‘ह्याप्पी तिहार’ को नयाँ गीतलाई ‘डन आयो डन’ का नाममा पुनः अपलोड गरेका थिए । तर, उनले यो गित पनि हटाएका छन् । गीत हटाएपछि दर्शक आश्चर्यमा परेका छन् । गायक थापाले गितका केही शब्द अझै परिमार्जन गर्नुपर्ने देखिएपछि हटाएको बताएका छन् । प्रतिवद्धता गरेअनुसार गित परिमार्जन नगरेपछि प्रहरीले पुनः पक्राउ गर्ने चेतावनी दिएपछि फेरि हटाएको उनीनिकट प्रहरी स्रोतले बतायो । थापाले फेरि केही शब्द हटाएर गित अपलोडको तयारी गरेका छन् ।