निर्मला हत्या प्रकरण : डिएनए परीक्षणमा त्रुटि भएको छानबिन समितिको ठहर

प्रकाशित मिति:

काठमाडौं –कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको डिएनए परीक्षणमा त्रुटि भएको निष्कर्ष छानबिन समितिले निकालेको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले डिएनएको नमुना परीक्षणमै त्रुटि भएकाले सो घटनामा डिएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको हो । समितिले मंगलबार गृहसचिव प्रेमकुमार राईलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा अभियुक्तको वीर्य भनेर परीक्षण गरिएको नमुना वीर्य नै हो भन्न नसकिने उल्लेख गरिएको छ । चिकित्सक वा प्राविधिकहरूको पसिना नमुनामा मिसिएको हुन सक्ने पनि प्रतिवेदनमा औँल्याइएको छ । यो प्रतिवेदनले डिएनएनमा मात्र भर नपरी अनुसन्धान गर्ने बाटो प्रहरीलाई खोलिदिएको छ । ‘हामीले सो घटनाको डिएनए परीक्षणसम्बन्धी सूक्ष्म अनुसन्धान गरेर प्रतिवेदन बुझाएका छौँ, कार्यान्वयन गर्ने काम सरकारको हो,’ छानबिन समितिका संयोजक रिजालले भने ।

गृह मन्त्रालयले गत महिना रिजालको संयोजकत्वमा डिएनए परीक्षणसम्बन्धी विज्ञ समिति गठन गरेको थियो । जसमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनएविद् दिनेश झा र त्रिवि शिक्षण अस्पताल महाराजगन्जका डा. तुलसी कँडेल सदस्य थिए । ‘डिएनए परीक्षणसम्बन्धी कुनै प्रोटोकल नै फलो गरेको पाइएन,’ समितिका एक अधिकारीले भने, ‘नमुना संकलनदेखि परीक्षणसम्म त्रुटि छ, डिएनएबाट यो केसको अनुसन्धान सफल हुने सम्भावना न्यून छ ।’ डिएनए परीक्षणका लागि भजाइनल स्वाबलगायतका नमुना संकलन गर्दा सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरिएको थियो । यो प्रक्रिया पूर्णतः दोषमुक्त नरहेको एक अधिकारीले बताए । छानबिन समितिले पोस्टमार्टम तथा नमुना संकलनमा संलग्न चिकित्सकसँग समेत सोधपुछ गरेको थियो । अघिल्लो दिनमै हत्या भएकोमा भोलिपल्ट साँझ मात्र नमुना लिइएको थियो । त्यसले पनि नमुना दूषित भएको हुन सक्ने औँल्याइएको छ ।

डिएनए परीक्षणमा वाइएसटिआर प्रविधिबाट नतिजा दिनु नै गलत भएको औँल्याइएको छ । ‘वाइएसटिआर विधिले वंशज मात्र पत्ता लाग्छ, व्यक्ति पत्ता लाग्दैन,’ समितिका एक अधिकारीले भने, ‘यस्तोमा अटोजोमल प्रविधि अपनाउनुपर्ने हो, प्रहरीको प्रयोगशालाले यसमा गम्भीर त्रुटि गरेको छ ।’ नमुनाहरू मिश्रित रूपमा परीक्षण गर्दा अटोजोमल प्रविधि सम्भव नभएको र यसमा चिकित्सकको कमजोरी भएको औँल्याइएको छ । तीनवटा भजाइनल स्वाबमा पुरुष डिएनएको मात्रा फरक–फरक पाइएको, डिएनए मात्रा अत्यधिक कम भएकाले सही परिणाम आउन नसक्ने अवस्था देखिएको छानबिन समितिको निष्कर्ष छ । नयाँ पत्रिकामा खबर छ ।