गौतम बुद्ध क्रिकेट रंगशालाको डीपीआर तयार

प्रकाशित मिति:

चितवन – धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तर्रााष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । तयार भएको डीपीआर भरतपुर महानगरपालिकामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रंगशालाको नमुना तयार गरेको छ । रंगशालाको प्रवेशद्धारमा गौतम वुद्धको शालिक निर्माण गरिनेछ । भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने गरी रंगशाला निर्माणका लागि नक्सांकन गरिएको देखाइएको छ । डीपीआर तयार भइसकेकाले अब कामले गति लिने फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताए । अहिले समान्य काम भइरहेको बताउँदै उनले डीपीआर नै आइसकेपछि सबै काम व्यवस्थित र दु्रत गतिमा हुने जानकारी दिए ।

सरकारको कर छुट गराउन सकेमा रंगशाला तयार गर्न २ अर्ब ६० करोड हाराहारी खर्च हुने अनुमान गरिएको छ । अध्यक्ष कट्टेलले रंगशालाका लागि बोलकबोलको रकम ७ करोडमध्ये १ करोड र नबोलीकनै सोझै २ करोड संकलन भएको जानकारी दिए । सबैको सहयोगबाट यो परियोजना सम्पन्न गर्नुपर्ने बताउँदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समयमै सम्पन्न गर्न सबै पक्षलाई सहयोगको आह्वान गरिन् ।

डीपीआर निर्माणको काम नेपालको क्रिएटिभ र भारतको हफिस नामका दुई कन्सल्टेन्सीले संयुक्त रूपमा गरेका हुन् । रंगशाला क्षेत्रलाई जस्ताले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने मजदुर बस्ने हल, कार्यालय निर्माण, कर्मचारी आवास गृह, गोदाम घर, सुरक्षाकर्मी बस्ने घरलगायतका आवश्यक संरचना निर्माण भइसकेको छ । रंगशाला स्तुपा आकारको हुनेछ भने क्रिकेट खेल मैदान कमलको फूल आकारको हुनेछ । रंगशालामा चारवटा द्वार हुनेछन् । जसमा २५ हजार दर्शक अट्ने क्षमता हुनेछ । आउँदो २५ वर्षपछि हुने प्रविधि अहिले नै प्रयोग गरेर नक्सांकन गरिएको छ । चितवनको रामपुरमा रहेको २० बिघा ६ कट्ठा जमिनमा रंगशाला निर्माण गर्न लागिएको हो । अहिले बन्न लागेको रंगशालामा ३५ खेल खेलाउन सकिनेछ । समयमा रकम जुटाउन सकेमा २२ महिनाभित्रमा रंगशला तयार हुने फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । रंगशालालाई स्पोटर््स हबका रूपमा विकास गरिनेछ । यो रंगशालामा क्रिकेट मात्र होइन, अन्य खेलका लागि उपयोग हुने गरी बनाइनेछ । यो रंगशालामा फुटबल, भलिबलसहित, नेपालको मौलिक खेल डन्डीबियोसम्म खेल्न सकिने गरी बनाइने योजना रहेको छ ।