माथिल्लो अरुणको सर्वेक्षण अनुमति

प्रकाशित मिति:

गोपालचन्द्र सुवेदी/काठमाडौँ – सरकारले माथिल्लो अरुण अर्ध जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि सर्वेक्षण अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक हजार ६१ मेगावाट क्षमताको उक्त आयोजनाको सर्वेक्षणका लागि नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वको कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई दुई वर्षका लागि अनुमति दिएको हो ।
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत आकर्षक परियोजनाको सूचीमा राखिएको सो आयोजनाको अहिले विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा विस्तृत अध्ययन जारी छ । कम्पनीले ०७३ को चैतमा लाइसेन्सका लागि विद्युत् विकास विभागमा आवेदन दिएको थियो ।
मन्त्रिपरिषद्ले गत वर्ष असोजमा सो आयोजनामा सर्वसाधारणको पनि सेयर रहने गरी कम्पनी मोडलमा निर्माण गर्न सहमति दिएको थियो । मन्त्रिपरिषद् बैठकले आयोजना प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण गर्न सहमति दिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो आयोजनालाई उच्च प्राथमिकताका साथ ‘गेम चेन्जर’ आयोजनाको रूपमा अगाडि बढाइने बताउनुभयो । संखुवासभामा पर्ने यो आयोजना जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत र प्राधिकरणको नेतृत्वमा समेत बन्ने अहिलेसम्मकै ठूलो हुनेछ । घिसिङका अनुसार यो आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको सेयर र विश्व बैङ्क, युरोपेली लगानी बैङ्कको सुहलियतपूर्ण ऋण तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषजस्ता स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन हुने छ । निर्माणपूर्वका सम्पूर्ण तयारी पूरा गरी एक वर्षभित्रमा निर्माण सुरु गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ, घिसिङले भन्नुभयो ।

विद्युत् माग उच्च हुने हिउँदका छ महिनामा दैनिक छ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक करिब एक अर्ब २० करोड अमेरिकी डलर (करिब एक खर्ब २० अर्ब रुपियाँ) छ । कुल लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणको योजना छ । आयोजनाबाट वार्षिक रूपमा चार अर्ब ४७ करोड ८० लाख युनिट ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । कुल वार्षिक ऊर्जामध्ये २८ प्रतिशत हिउँदमा उत्पादन हुने बताइएको छ । फागुनभित्र विस्तृत परियायोजना प्रतिवेदन र टेन्डर डकुमेन्ट तयार गरिसक्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ । आयोजनाको निर्माण २०८३ को पुसभित्र सक्ने लक्ष्य प्राधिकरणको छ । माथिल्लो अरुण भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण तेस्रोभन्दा माथि पर्छ । आयोजनाको बाँधस्थल भोटखोला गाउँपालिका–२, चेपुवामा पर्छ । विद्युतगृह सोही गाउँपालिकाको वडा नं. ४ चोमराङमा रहने छ । – गोरखापत्र