मणिग्राम–काठमाडौं एसी बस सञ्चालन

प्रकाशित मिति:

तिलोत्तमा –  पश्चिम नेपाल बस व्यवसायी प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई काठमाडौंसँग जोड्ने उद्देश्यले पहिलोपटक मणिग्राम–काठमाडौँ एसी (वातानुकूलित) बस सेवा सुरु गरेको छ । तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलनका क्रममा यायायात क्षेत्रलाई पनि समृद्धिको आधार ठानेको र यस क्षेत्रका यात्रुहरुले बुटवल तथा भैरहवाबाट टिकट काटेर यात्रा गर्दा असहज हुने अवस्था देखिंदै आएकाले मणिग्राम–काठमाडौं एसी बससेवा सञ्चालन गरिएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले जानकारी दिए । उनले तिलोत्तमाले प्रस्तावित गरेको प्रदेशिक बसपार्क क्षेत्र टिकुलीगढबाट समेत आगामी दिनमा तीनवटा बस सञ्चालन गर्ने योजना रहेको पनि सुनाए ।

बसमा फ्रि वाइफाइ, खाजा, पानीलगायतको समेत व्यवस्था छ । अव हरेक दिन काठमाडौंका लागि मणिग्रामबाट साँझ ७ बजे र काठमाडौंबाट मणिग्रामका लागि राति ८ बजे बस छुट्ने छ । “लामो यात्रामा यात्रुलाई समस्या भएपछि मणिग्रामबाट पनि एसी बस सञ्चालन गरेका हौँ”–अध्यक्ष खरेलले भने । उनले तिलोत्तमाले लगानी सम्मेलनमार्फत लगानीका लागि आह्वान गरेकाले आफूहरुले पनि तिलोत्तमालाई केन्द्रित गर्दै यातायात क्षेत्रमा लगानी गरेको बताए । उक्त एसी बसेको बुधबार यातायात व्यवस्था कार्यालय लुम्बिनीका प्रमुख मुक्ति प्रसाद पाण्डेले उदघाटन गरेका हुन् । मणिग्रामबाट काठमाडौँको भाडा प्रतियात्रु रु एकहजार तोकिएको छ । बसमा तीनजना सुत्न मिल्ने गरी शिलिपर सिटको समेत व्यवस्था छ । उक्त सिटको भाडा प्रतियात्रु १५ सय तोकिएको छ ।

सुविधाजनक सिट र शिलिपर सहितको रकेट एसी बसको सेवा शुभारम्भ गर्दै यातायात व्यवस्था कार्यालयका प्रमुख पाण्डेले यस क्षेत्रका यात्रुलाई सहज सेवा प्रदान गर्ने गरी पश्चिम नेपाल बस व्यवसायी प्रालिले गरेको कार्य अनुकरणीय रहेको बताए । लामो समयदेखि ग्रामीण क्षेत्रका कच्ची सडकहरुमा समेत यातायात सवा सञ्चालन गरेर पश्चिम नेपालले बिगतदेखि यात्रुलाई सेवा प्रदान गरिरहेको भन्दै यातायात क्षेत्रको व्यवस्थापनमा प्रलिसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।त्यस अवसरमा तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चेतनारायण भण्डारीले तिलोत्तमाले प्रस्ताव गरेको प्रदेशिक बसपार्क निर्माण कार्य आगामी पाँच वर्षभित्र गरिने बताउँदै तिलोत्तमाको मध्यभागमा पर्ने मणिग्रामबाट एसी बस सेवा सञ्चालन हुनु यस क्षेत्रका यात्रुका लागि खुशीको कुरा भएको बताए । पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक रामचन्द्र भुसालले यात्रुहरुलाई स्तरीय सेवा प्रदान गर्न प्रालि प्रतिवद्ध रहेको बताए ।