सिद्धार्थ नगरपालिकाद्वारा मासु पसलमा अनुगमन सडेगलेको मासु बरामद गरी नष्ट

प्रकाशित मिति:

भैरहवा-सिद्धार्थनगर नगरपालिकाले बिहीबार नगर क्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा सडेगलेको मासु भेटिएपछि बरामद गरिएको छ । वडानम्बर ७ को जनकपथ, ५ को वीपीपथ र वडानम्बर १३ को हाटबजार लाइनमा रहेका मासु पसलको अनुगमन गरिएको हो । अनुगमन समिति संयोजक एवं सामाजिक विकास शाखा अधिकृत यादवप्रसाद सापकोटाले नगरभित्रका १२ वटा मासु पसलको अनुगमन गर्दा एक क्विन्टल बढी सडेगलेको मासु भेटिएपछि बरामद गरी नष्ट गरिएको बताए ।

‘व्यवसायीले जनस्वास्थ्यमाथि निकै खेलवाड गरेको पाइयो । महिनौंदेखि सडेको मासु विक्रीका लागि राखेको पाइएपछि हामीले बरामद गरेर नष्ट गरेका छौं । व्यवसायीलाई सचेत गराएका छौं’, उनले भने । नगरपालिकाको अनुगमन समितिले बुधबार पनि वडानम्बर ५ र ६ मा रहेका खाद्यान्न पसल, किराना पसल तथा होटल र मिठाई पसलमा अनुगमन गरेको थियो । अनुगमनमा म्याद गुज्रिएका खाद्यवस्तु भेटिएपछि जफत गरी नष्ट गरिएको थियो ।अनुगमनका क्रममा पसलेले विक्रीका लागि राखेको करिब एक क्विन्टल खशी, बोका र बाख्रीको मासु बरामद गरि नष्ट गरिएको हो । सिनपा–७, जनकपथमा रहेको न्यू सुपर मासु पसलबाट मात्रै ८० केजी बढी बाख्रीको सडेगलेको मासु बरामद गरिएको छ । सोही पसलबाट ८ वटा बाख्री पनि नियन्त्रणमा लिइएको छ । उक्त पसल नगरपालिकाबाट अर्को निर्देशन नहुँदासम्म संचालनमा रोक लगाइएको सापकोटाले जानकारी दिए । ‘उपभोक्तालाई जानकारी नै नदिई न्यू सुपर मासु पसलका संचालकले बाख्रीको मासु विक्री गरेको पाइयो । महिनौं पुरानोे सडेगलेको मासु पनि भेटियो । त्यसपछि बाख्री र सडेको मासु बरामद गरेका हौं’, अनुगमन समिति सदस्य एवं उपभोक्ता मंच नेपालकी कार्यबाहक अध्यक्ष भगवती भण्डारीले भनिन् ।

उक्त पसलमा गत वर्ष पनि करिब डेढ क्विन्टल सडेको मासु नगरपालिकाको अनुगमन समितिले बरामद गरी नष्ट गरेको थियो । ‘पटक–पटक एउटै पसलेले जनस्वास्थ्यमाथि खेलाँची गरेपछि कारबाही गरेर पसल नै बन्द गर्न निर्देशन दिएका हौं’, भण्डारीले भनिन् । यो पसल मासु व्यवसायी संघ, सिद्धार्थनगरका पूर्व अध्यक्ष जाकिर हुसैनको हो । ‘नगरपालिकाले धेरैपटक सचेत गराउँदा समेत पूर्वअध्यक्षकै पसलमा सडेगलेको मासु र बाख्रीको मासु उपभोक्तालाई विना जानकारी बेचविखन गर्नु कानूनको उपहास हो’, संयोजक सापकोटाले भने ।यस्तै, अनुगमन समितिले वडानम्बर १३ मा रहेको सोनु मासु पसलबाट पनि १० किलो सडेगलेको खशीबोकाको मासु बरामद गरेको छ । वडानम्बर ८ मा रहेको कुरैशी मासु पसल र भैरहवा फ्रेस हाउसबाटबाट पनि सडेगलेको मासु बरामद गरेको छ । यस्तै, अनुगमनका क्रममा केही मासु पसल दर्ता विनै संचालन गरिएको, दर्ता नवीकरण नगरिएको, सरसफाई नगरिएको, कुखुरा र खशीबोकाको मासु एउटै फ्रिजमा राखिएको पाइएपछि त्यसलाई तत्काल सुधार्न निर्देशन दिइएको छ ।समितिले वडानम्बर १३ मा रहेको ताज मासु पसल, कुरैशी मिट सप, सोफिया फ्रेस हाउस, माहिरा फ्रेस हाउस, न्यू खान मासु पसल, न्यू मनकामना फ्रेस हाउस, खान फ्रेस हाउस, अमिर एण्ड कुरैशी मासु पसलमा अनुगमन गरेको थियो । अनुगमनमा भेटेनरी चिकित्सक ईश्वरचन्द्र चौधरी, जिल्ला प्रशासनबाट पुरुषोत्तम नेपाल, बाणिज्य कार्यालयबाट नारायण पन्थी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट शिखर आचार्य, उद्योग ब्यापार संगठनका बरिष्ठ उपाध्यक्ष गिरिषचन्द्र त्रिपाठी, सिद्धार्थ उद्योेग बाणिज्य संघका सदस्य मंगल भण्डारी, नेपाल प्रहरी लगायतको सहभागिता थियो ।