कोहलीलाई आराम, धोनी अनुपस्थित, रोहितले नेतृत्व गर्ने

प्रकाशित मिति:

बुटवल  – बङगलादेश विरुद्धको टी ट्वान्टी श्रृखंलाका लागि भारतका नियमित कप्तान विराट कोहलीलाई आराम दिइएको छ । कोहलीलाई विश्राम र महिन्दर सिंह धोनी अनुपस्थित हुने भएपछि टिमको नेतृत्व रोहित शर्माले गर्नुहुनेछ । अर्को महिना हुने तीन म्याचको टी ट्वान्टी श्रृखंलाका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले चौध सदस्यीय टोलीको घोषणा गर्दा कोहलीलाई विश्राम दिइएको हो । मुम्बईका अलराउन्डर शिवम दुबेले पहिलोपटक भारतीय क्रिकेट टिममा स्थान बनाउनुभएको छ ।

केरलाका विकेटकीपर ब्याट्सम्यान सञ्जु सैमसनले टिममा वापसी गर्नुभएको छ । नोभेम्बर तीनमा सुरु भई दश नोभेम्बरसम्म बङगलादेशले भारत विरुद्ध तीन म्याचको टी ट्वान्टी श्रृखंला खेल्नेछन् । कुलदीप यादब घाइते हुँदा दक्षिण अफ्रिका विरुद्धको टेष्ट श्रृखंलाको तेस्रो खेलमा स्थान पाउनुभएका शहवाज नदीम भने टी ट्वान्टी टिममा पर्नुभएन ।

जसप्रित बुमराह र हार्दिक पाण्डया पनि शल्यक्रिया गराएपछि टिममा वापसी गर्न सकेनन । ऋषभ पन्त भने विकेटकीपर ब्याट्सम्यानको रुपमा यथावत रहनुहुनेछ । त्यसैगरी टिमका सदस्यहरुमा शिखर धवन, के एल राहुल, श्रेयस ऐयर, मनिष पाण्डे, वाशिंगटन सुन्दर, क्रुनाल पाण्डया, युज्वेन्द्र चाहल, राहुल चहर, दिपक चहर, खलील अहमद र श्रद्धुल ठाकुर रहेका छन् । – एजेन्सी