नेशनल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको भन्दै प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं –  नेसनल मेडिकल कलेजले विद्यार्थीहरुबाट नियम विपरीत अतिरिक्त शुल्क उठाएको पाइएको छ । एमबीबीएस पहिलो वर्षका विद्यार्थीबाट बसरुद्दिद अन्सारीले सञ्चालन गरेको नेशनल मेडिकल कलेजले कानून विपरीत शुल्क उठाएको विद्यार्थीको आरोप छ । नेपाल सरकारले तोकेको शुल्क विपरीत कलेजले विभिन्न बहानामा अतिरिक्त थप पैसा तिराउने गरेको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिले वीरगञ्जमा प्रदर्शनसमेत गरेको छ । सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ । तर, नेशनल मेडिकल कलेजले एमबीबीएस १८ औं ब्याजको पहिलो वर्षका विद्यार्थीबाट अतिरिक्त शुल्क उठाएको देखिन्छ ।

एक विद्यार्थीका अनुसार होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजले मनपरी शुल्क उठाइरहेको हो । शुल्क नबुझाए परीक्षामा समस्या आउने भनेपछि मेडिकल कलेजले भने, बमोजिम शुल्क बुझाउन बाध्य भएको ती विद्यार्थीले बताए । विद्यार्थीले बुझाएको विवरणमा पाँच लाख रुपैयाँ लिखितरूपमै उठाएको पाइएको छ । नेसनल मेडिकल कलेजले परीक्षा, रजिष्ट्रेसनबापत ३५ हजार रुपैयाँ उठाएको छ । लाइब्रेरी शुल्क भन्दै ३५ हजार, ल्याब शुल्क ३५ हजार, ‘प्रमोसन’ बापत १ लाख २५ हजार, होस्टल ८५ हजार, मेस शुल्क ९० हजार, बिलम्ब शुल्क १६ हजार ८ सय र अन्य गरेर ४० हजार रुपैयाँ उठाएको छ । – अनलाइनखबर