उपनिर्वाचन आचारसंहिता : पोष्टर टाँस्न मनाही, आयोगले तोकेभन्दा ठूलो ब्यानर राखे कारबाही

प्रकाशित मिति:

काठमाडौं – आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले आचारसंहिता कडाइका साथ लागू गरिने जनाएको छ। मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहका गरी ५२ पदका लागि उपनिर्वाचन हुँदै छ। आचारसंहिता संघीय, प्रदेश र स्थानीय सरकारसँगै अन्य सरोकारवालालाई पनि लागू हुनेछ। उपनिर्वाचन हुने तहमा तीनवटै सरकारले चुनावी प्रसारप्रसार र नयाँ कार्यक्रम गर्न पाउने छैनन्। आयोग प्रवक्ता राजकुमार श्रेष्ठले यो अवधिमा सरकारी स्वामित्वका भवन, सवारीसाधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने बताए। त्यस्तै, उपनिर्वाचन नहुँदासम्म स्थानीय, प्रदेश र संघीय सरकारले चुनाव हुने तहमा पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार पनि दिन पाउने छैनन्।

त्यससँगै, उपनिर्वाचन हुने तहका सम्बन्धित सरकारले कर्मचारी सरुवा, बढुवा गर्न वा काजमा खटाउन पाउने छैनन्। लोकसेवा आयोग, न्याय सेवा आयोग, शिक्षा सेवा आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले भने नियमित रूपमा गर्ने पदपूर्तिमा निर्वाचन आचारसंहिता बाधक हुने छैन। त्यस्तै, राजनीतिक दल र उम्मेदवारले पनि आचारसंहिता पालना गर्नु पर्नेछ। जुलुस, आमसभा, र्‍याली, बैठक, भेला गर्दा आचारसंहिता पालना गर्नुपर्नेछ। चुनावी प्रसारमा सवारीसाधन र सञ्चारमाध्यम प्रयोग गर्दा आचारसंहिता अनिवार्य पालना गर्नुपर्ने आयोगले जनाएको छ।

उपनिर्वाचनमा उम्मेदवारले आयोगले तोकेको आकारको मात्रै ब्यानर प्रयोग गर्न पाउनेछन्। यस पटक पनि पनि उम्मेदवारले पोस्टर बनाएर प्रचार गर्न पाउने छैनन्। ‘आचारसंहिता विपरित गरिएको पाइएमा कारवाही गरिनेछ,’ प्रवक्ता श्रेष्ठले भने। आचारसंहितासम्बन्धी विस्तृत विवरण केही दिनमै सार्वजनिक गरिने आयोगले जनाएको छ। मंसिर १४ मा प्रतिनिधिसभा एक र प्रदेश सभा सदस्यका तीन क्षेत्रमा निर्वाचन हुँदै छ। त्यस्नै, स्थानीय तहका ४८ स्थानमा निर्वाचन हुँदै छ।