मुस्कानको चिठ्ठी : ‘प्रधानमन्त्रीज्यू, तपाईँको ठाउँमा म भएको भए तेजाब हान्नेलाई फाँसी दिन्थेँ’

प्रकाशित मिति:

काठमाडौं – एसिड आक्रमणमा परी घाइते भएकी १५ वर्षीया बालिका मुस्कान खातुनले प्रधानमन्त्रीलाई चिठ्ठी लेख्दै दोषीलाई फाँसीको सजायको माग गरेकी छन् । उनले यसअघिका एसिड आक्रमणका दोषीलाई कडा कानुनी व्यवस्था भएको भए आफूले अहिले एसिड आक्रमणमा परेर अस्पतालको बेडमा छट्पटाउनुपर्ने अवस्था नआउने उल्लेख गरेकी छन् । मुस्कानले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अहिले आफू भएको भए ‘तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थेँ’ भनेकी छन् ।

यस्तो छ चिठ्ठी

माननीय प्रधानमन्त्रीज्यू
म मुस्कान खातुन अन्सारी

मेरो तर्फबाट नमस्ते । म एउटा तेजाब आक्रमणको नानी । हजुरलाई एउटा सानो चिठी । यो घटना मसँग घट्यो । यो घटनाको पीडा भनेको ठुलो पीडा हो । पहिले सीमा बस्नेत र संगीता खड्कालाई एसिड आक्रमण भएको बेला कडाभन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुने थिइन होला । प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला ।

यसपाली एसिड आक्रमणकारीले ठुलो भन्दा ठुलो सजाए पाओस् ता कि म जस्तो एउटा बलिकामाथि या चेलीबेटी कसैमाथि तेजाव आक्रमण नहोस् । मैले जति पीडा खपेको छु, त्यो पीडा अरु कोही माथि पनि नहोस् । यो पीडा भनेको सानो पीडा होइन । एउटा देशको ठूलो पीडा हो । आमा र बुवाको पनि पीडा धेरै ठुलो पीडा हो । यो पीडा कसैको आमा र बुवाले खप्नु नपरोस् । त्यो दोषीलाई यसपालि ठूलो भन्दा ठुलो सजाय होस् । मेरो हजुरसँग बिन्ती र अपेक्षा छ । हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनु होस्। यो घटना कसैमाथि नहोस् र कोही पनि तेजाब आक्रमण भएको चेलीबेटी अस्पताल नआओस् भन्ने अनुरोध छ ।

धन्यवाद