कांग्रेसमा ‘विभाग’ विवाद, देउवाको प्रस्ताव इतर पक्षद्धारा अस्विकार

प्रकाशित मिति:

काठमाडौं-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विधान गठनका विषयमा विवाद देखिएको छ। सभापति शेरबहादुर देउवाले विधानमा व्यवस्था भए भन्दा बढी विभाग गठन गर्ने प्रस्ताव गरेपछि विभागकै विषयलाई लिएर संस्थापन र इतर पक्षबीच विवाद उत्पन्न भएको हो। संस्थापन पक्ष र इतर पक्षबीच पार्टीका रिक्त विभाग गठनका विषयमा कुरा नमिल्दा बिहीबारका लागि बोलाइएको बैठक १४ कार्तिकमा बस्ने गरी सरेको छ। संस्थापन इतर समूहको पार्टीको विधानअनुसार गठन हुनु पर्ने सबै विभागलाई पूर्णता दिनु पर्ने अडानपछि बैठक स्थगित भएको नेता अर्जुननरसिंह केसीले बताए। इतर समूहले विधानअनुसार पार्टीका रिक्त २८ वटै विभाग गठन गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएका छन्।

तर सभापति देउवाले भने विभाग गठन गर्दा तत्काललाई पुरानै विधान अनुसार गरौं भनेपछि संस्थापन पक्ष र इतर पक्षबीच विवाद भएको केसीले जनाए। ‘सभापतिले पुरानै विधानअनुसार विभाग गठन गरौं भन्ने प्रस्ताव गर्नु भयो, इतर पक्षले महासमितिले पारित गरेको विधान अनुसार नै विभाग बन्नु पर्छ भन्ने अडान राख्यो,’ नेता केसीले हाम्राकुरासँग भने,‘सोही विषयमा कुरा मिलेन ।’ कांग्रेसको गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकले पारित गरेको विधानअनुसार केन्द्रमा २८ वटा विभाग रहने व्यवस्था छ। तर सभापति देउवाले भने पुरानै विधानअनुसार अर्थात ४२ विभागको प्रस्ताव गरेको इतर पक्षको भनाइ छ।

केन्द्रीय सदस्य मीन विश्वकर्माले भने अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेहरु धेरै हुँदा समय अभावका कारण बैठक स्थगित गरिएको बताए। ‘केन्द्रीय समिति बैठक बिहीबारका लागि बोलाइएको हो, तर अन्य पार्टीबाट आएका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै गर्दा समय अभाव भएर बैठक सरेको हो, तिहारपछि बस्छ,’ उनले भने। उनले आगामी बैठक मार्फत पार्टीका रिक्त विभागले पूर्णता पाउने बताए। इतर पक्षले भने अब बस्ने बैठक मार्फत पार्टीका सबै रिक्त विभाग, नेविसंघ, तरुण दल सहितका सबै भातृसंगठनका विषयलाइ समग्रतामा टुंगाउनु पर्ने बताएको छ। कांग्रेसले बिहिबारको बैठकबाट उपनिर्वाचनमा उम्मेदवार बनाइने पार्टीका नेताहरुकाबारे समेत छलफल हुने बताएको थियो। तर सो बारे समेत कुनै छलफल हुन सकेन। कांग्रेसमा धरान उपमहानगरपालिकाबाट उम्मेदवारमा तिलक राईको नाम सर्वसम्मत सिफारिस भएको छ भने अन्यत्रबाट उम्मेदवार बन्ने आकांक्षीहरु धेरैको नम सिफारिस भएर आएको छ।