म ओरिजिनल माओवादी होइन – प्रचण्ड

प्रकाशित मिति:

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू ओरिजिनल माओवादी नभएको बताएका छन् । शुक्रबार विराटनगरमा दसैँ, तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वको अवसरमा आयोजित शुभकामना आदन–प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले २०२८ सालमा पुष्पलाल समूहबाट सदस्यता लिएको र २०३३ सालमा मात्रै चौथो महाधिवेशन (जसलाई चौम) पनि भनिन्छमा गएको बताएका हुन् । मदन भण्डारी (जो पुष्पलाल समूहबाट कोअर्डिनेशन केन्द्रमा गएका थिए)सँग तुलना गर्दै प्रचण्डले कार्यक्रममा भने, “म पनि चौथो महाधिवेशनको मदन भण्डारी नै हो ।” उनले आफू ओरिजिनल चौम र मसाल र माओवादी नभएको बताए ।

“कोअर्डिनेशन केन्द्रको नभए पनि मदन भण्डारीलाई आत्मसात गर्न त्यतिबेलाको मालेले कुनै सङ्कीर्णता देखाएन । त्यतिबेलाका पार्टी नेतृत्वले झापा विद्रोहको मान्छे नै चाहिन्छ भनेनन्, हामी सबैले विचार गर्नुपर्ने कुरा यहाँ छ,” उनले सम्झाए । उनले झापा विद्रोह, कोअर्डिनेशन केन्द्रको लिगेसी बोकेकाहरू कहाँ भएको र पुष्पलाल समूहबाट आएका मदन भण्डारीले पार्टीको नेतृत्व गरेको पनि स्मरण गरे । “त्यतिबेलाको मालले मदन भण्डारीको क्षमता, गतिशीलता, सिर्जनशीतलाई आत्मसात गर्‍यो, मालेका ओरिजिनल भनिएकाहरूको हालत के छ तपाईं हामी सबैलाई थाहा छ,” उनले भने, “तपाईंहरूलाई ओरिजिनल मसाल, माओवादी नै लाग्ला, म पनि ओरिजिनल माओवादीचाहिँ होइन ।”

उनले मदन भण्डारी र आफू पार्टीमा एकपटक महासचिव भएको सन्दर्भ केलाउँदै भने, “२०४६ सालको जनआन्दोलन पूर्व उहाँ (मदन भण्डारी) मालेको महासचिव हुनुभयो । २०४१ सालमा मसालको केन्द्रीय समितिमा आएको म जनआन्दोलनपूर्व महासचिव बनेँ ।” तत्कालीन मसालले २०४३ सालमै सशस्त्र सङ्घर्षको थालनी गर्ने तयारी गरेको थियो । तर सेक्टर काण्डपछि सशस्त्र सङ्घर्षको योजना विफल भएको उनले बताए । २०४६ सालअगाडि नै सशस्त्र संघर्ष गर्ने मसालको तयारी थियो । त्यतिबेला मैले अहिले सशस्त्र सङ्घर्ष गर्ने बेला होइन, लट्ठीले घोचेर सिसा फुटाएर क्रान्ति हुँदैन भन्ने तर्क गरेँ,” उनले भने । त्यतिबेलै हातहतियार जम्मा गरेको बताउँदै आफू महासचिव भएपछि बसेको पहिलो बैठकले जम्मा भएका हतियार ओढारमा लुकाउने शान्तिपूर्ण सङ्घर्षमा जाने निर्णय गरेकोसमेत स्मरण गरे ।

उनले दिमाग आफूमा र मदन भण्डारी दुवैमा रहेको त्यतिबेला दुवै जनाले कम्युनिस्ट पार्टीलाई एकतावद्ध बनाउन प्रयत्न थालेको बताए । “२०४६ सालको परिवर्तनपछि तत्कालीन माले नेकपा एमाले बन्यो । तत्कालीन नेकपा मसाल नेकपा एकताकेन्द्रमा रूपान्तरित भयो । मदन भण्डारीले त्यतिबेला बडो उदारतापूर्वक फिप्टी–फिप्टी दिएर भए पनि पार्टी एकता गर्नुपर्छ । मनमोहन अधिकारीको व्यक्तित्व ल्याउनुपर्छ भन्नेमा लाग्नुभयो । म पनि निर्मल लामा, मोहन विक्रम, रूपलाल विश्वकर्मा ल्याएर कम्युनिस्ट पार्टी एकता गर्नुपर्छ भन्नेतिर लागेँ,” उनले भने ।