धुर्कोटलाई नमुना गाउँपालिका बनाउछु : भुपाल पोखरेल , अध्यक्ष धुर्कोट गाउँपालिका

प्रकाशित मिति:

धुर्कोट गाउँपालिका गुल्मी जील्लाको पश्चिम क्षेत्रको गाउँपालिका हो । धार्मिक र पर्यटकीय हिसावले महत्वपूर्ण रहेको यो गाउँपालिका को मुख्य ऐतिहासिक तथा रमणीय स्थल धुर्कोट कोट र विचित्र गुफा हुन । नेपाल एकिकरण पूर्वको चौविसे राज्य मध्ये धुर्कोट राज्यको राजदरवार हो । कोटको तल पट्टि रहेको धुर गाउँको नामबाट धुरको कोट भन्दा भन्दै धुर्कोट भन्न थालिएको थियो । राज्यको पुर्नसंरचनाको क्रममा पुराना धुर्कोट राज्यका गाउँहरुलाई समेटेर धुर्कोट गाउँपालिका कायम गरिएको छ । साविकको नयाँगाउँ, पिपलधारा, हाडहाडे, जैशिथोक, वस्तु, धुर्कोट रजस्थल र वाग्ला मिलेर गाउँपालिकाको निर्माण भएको छ । गत वर्ष गाउँपालिका अध्यक्षका रुपमा निर्वाचित हुनुभएका भुपाल पोखरेलले धुर्कोटलाई नमुना गाउँपालिका बनाउने लक्ष्य लिनुभएको छ । जनप्रतिनिधि लाई आम जनतासंग उत्तरदायी बनाउने अभियान का साथमा गाउँपालिका अध्यक्ष पोखरेल संग सबल नेपाल साप्तिाहिकका लागी झविन्द्र भण्डारीले गरेको कुराकानी

 तपाईं निर्वाचित भएपछी गाउँपालिकामा गरेका नमुना योग्य कार्य के – के छन ?
धुर्कोट गाउँपालिकामा निर्वाचित भएपछि पदभार ग्रहण गर्ने दिनमै गरेको खरका छाना विस्तापित गर्ने अभियान हाम्रो गाउँपालिकामा मात्र नभएर अहिले देशभर लागु भएको छ । त्यस्तै एक घर एक धारा मार्फत खानेपानी ब्यवस्था गर्ने अभियान, आफ्नै शभाहल निमार्ण, टोल सरक्षंण महिला मञ्चको गठन, नमुना वाल कक्षाहरुको ब्यवस्थापन, नेपाल कै कुनै पनि स्थानीय तहले नगरेको वातावरण दिवशमा २ सयभन्दा बढी सुख्खा पोखरी निमार्ण र संरक्षण, धुर्कोट धार्मिक महोत्सव मार्फत धार्मिक क्षेत्रको प्रचार प्रसार र संरक्षण, शहिद पार्क निमार्ण कार्यको शुरुवात जस्ता धेरै महत्वपूर्ण र गौरव गर्न लायक कामहरु भएका छन । उत्पादनमा आधारित कृषि र पशुपालनमा अनुदान देशकै नमुना कार्यक्रम शुरु भएको छ । किसानलाई परिचय पत्रको ब्यवस्था, जेष्ठ नागरिकलाई रेडियो वितरण जस्ता कामहरुको शुरुवात भएको छ । आर्थिक विकासमा धुर्काेट गाउँपालिकाले लिएका निती तथा कार्यक्रममा युवाहरुको ब्यवसायिक कृषि र पशुपालनमा आकर्षण बढ्दो छ । जसले रोजगारी सिर्जना गर्ने र गरिवी निवारणमा प्रत्यक्ष योगदान पुगेको छ । शिक्षा क्षेत्रमा सुधारका संकेतहरु देखिएका छन । तालिम, नमुना वालकक्षा, करार शिक्षक नियुक्ति, २ दर्जनभन्दा बढी कानुनहरु निमार्ण गर्ने लगायतका धेरै उपलब्धीहरु हासिल भएका छन ।

 चुनावमा जनता संग गरेका प्रतिबद्धता अनुसार कार्य भएका छन त ?
चुनावमा जनता संग गरेको प्रतिबद्धता अनुसार शुरुकै चरणमा हामीले प्रत्यक्ष जनताले सिहंदरवारको अधिकार गाउँमा आएको प्रत्याभुति गराउनका लागि भौतिक सरंचनाको अभाव, कर्मचारी अभाव, कानुनी अस्पष्टताका कारणले केही समस्याहरु देखिएका थिए । यसको वावजुद पनि हामीले जनताहरुलाई सिहंदरवारको अधिकार गाउँमै दिने प्रयत्न गरेका छौ । लामो समयपछि जनप्रतिनिधी निर्वाचन भएका छन अझ सिहंदरवारको अधिकार गाउँमा भनेपनि जनताका अपेक्षाहरु धेरै हुनु सकारात्मक नै हो । प्राथमिकताका आधारमा जनताका अपेक्षाहरु पुरा हुन्छन । सरकार विधी र कानुनले चल्ने भएकाले पहिलो बर्ष दुई दर्जनभन्दा बढी कानुनहरु निमार्ण गरेका छौ । जसवाट स्थानीय सरकारसगँ जनताका अपेक्षाहरु दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ विकासका कामहरु दु्रत रुपमा अगाडि बढाएका छौ । आज नागरिक हाम्रो सेवाप्रति सन्तुष्ट हुनुहुन्छ । ५ बर्षभित्र निर्वाचनमा गरिएका प्रतिवद्धतालाई साक्षी राखेर जनताका अपेक्षाहरु पुरा हुन्छन भन्नेमा म लगायत हाम्रो धुर्कोट गाउँ कार्यपालिकाको टिम ढुक्क छ ।

आगामी आर्थीक बर्षको निती तथा कार्यक्रमहरु पास गराउनुभयो मुख्य प्राथमीकताहरु के के छन ?
ग्रिवी निवारण गर्ने, उत्पादनलाई जोड दिदै रोजगारी सिर्जना गर्ने जस्ता योजनाहरुलाई पहिलो प्राथमिकतामा राखेका छौ । एक घर एक धारा खानेपानी तिव्र रुपमा अगाडि बढेको छ । जनताआवास कार्यक्रम मार्फत गरिव र विपन्नका घरमा टिनका छाना लगाउने , सडकहरुको स्तरोन्नती गरि नियमित सडक यातायात सञ्चालनमा जोड दिइएको छ । कृषि र पशुपालनमा ब्यवसायिक, प्रविधीमैत्री उत्पादनलाई समेत प्राथमिकतामा राखिएको छ । पूर्वाधार विकास निमार्णलाई पनि अगाडि सारेका छौ ।

 पहिलो वर्ष स्थानिय तहको कार्य सम्पादनमा कस्ता चुनौती देखा परे ?
सघींय र प्रादेशिक कानुनहरु नवन्दा केही काम समयमै कार्य सम्पादन गर्न सकिएन । भौतिक सरंचनाको अभाव र कर्मचारी ब्यवस्थापन हुन नसक्दा सेवा प्रवाह ब्यवस्थित गर्न नसकिएको तितो अनुभव गरेको छु । विकास निमार्ण कार्यमा दिगोपनाको वारेमा आम नागरिकलाई कुरा वुझाउन नसक्दा विकास निमार्णका कार्यहरु योजनावद्ध ढगंले अगाडि बढाउन केही जटिलताहरु उत्पन्न भए । आगामि बर्ष यो समस्या हटाउने लक्ष राखेका छौ । दोस्रो बर्ष यस्तो प्रकारका चुनौतीहरु आउने छैनन ।

स्थानिय तहले लिएको करको विषयमा धेरै गुनासाहरु आइरहेका छन । तपाई के भन्नुहुन्छ ?
कर मानिसले रहरले तिर्ने कुरा त होइन तर आफ्नो टोल, छिमेक, गाउँ र समग्र देशको विकासको लागि सबैले कर तिर्नुपर्छ । पछिल्लो समयमा जुन हल्ला आइरहेको छ यो असत्य छ जस्तो लाग्छ । समग्रमा ७५३ स्थानिय तहमा हेर्दा लगभग ५ प्रतिशत स्थानिय तहमा मात्र करको बारेमा केही तालमेल नमिलेको कुरा आएको छ । त्यो गलत छ यसलाई सच्याउन पर्छ । तर समग्रमा नै उठेको कर गलत भएको कुरा आइरहेको छ यो होइन किनकि हामिले स्थानिय तहमा घटना दर्ता गर्छौ घटना दर्ता गर्दा ३५ दिन भित्र आएमा हरेक नागरिकले हरेक स्थानिय तहमा निशुल्क पाउँछ । ३५ दिन पछि मात्र बिलम्व शुल्क लाग्छ त्यो कर होइन । यहाँ कर र जरिवानालाई एउटै रुपमा हेरिएको छ त्यस्तो होइन यो फरक कुरा हो । हामिले उठाएको करको विषयमा जन गुनासो कहि आएको छैन । कहि कतै आउनु त्यो सामान्य कुरा हो । किनकि यत्रो देश परिबर्तन भएको छ । हामि नयाँ संरचनामा गएका छौ । त्यसैले नियोजित तरिकाले करको विषयमा प्रचार गरिनु गलत छ ।
स्थानिय तहले लिएको सेवा सुविधामा समेत प्रश्न उठेको छ ? प्रश्न उठ्नुको कारण के होला ?
स्थानिय तहमा यातायात मोबाइल जस्ता विषयमा टिका टिप्पणी भएका छन यसलाई हामिले बुझ्न आबश्यक छ । हिजो पञ्चायतमा सडकहरु नहुदा राजा, प्रधानहरु लगायत सबै घोडामा हिड्थे । घोडाको विकल्पमा अहिले यातायातका साधन आइरहेका छन । आज टोल टोलमा हामिले बाटो पु¥याएका छौ । ग्रामिण क्षेत्रमा जहाँ लेनलाइन फोन छैन त्यहा मोवाइल अति आबश्यक नै हुन्छ । त्यो वडा अध्यक्षलाई दिएको मोवाइल होइन त्यो वडा कार्यालय लाई दिइएको हो । त्यसैले प्रत्येक वडामा इन्टरनेट, मोटरसाइकल, कार्यालय, टेलिफोनको सुविधा उपलब्ध गराए मात्र जनतालाई पविधि मैत्रि बनाएर शुसासन आउने प्रत्याभुति दिन सकिन्छ । छिटो, छरितो,पारदर्शी, चुस्त दुरुस्त हुन्छ भन्ने कुराले गर्दा यस्ता औजारको प्रयोग गरिएको हो यसलाई गलत तरिकाले प्रचार गरिनु हुदैन ।
अन्त्यमा के भन्नुहुन्छ ?
धुर्कोट गाउँपालिकाको समग्र विकासका लागि गर्नुभएको सहयोग, रचानात्मक सल्लाह र सुझावको लागि आम नागरिक,समाजसेवी, वुद्धिजीवी,सञ्चारकर्मी,शिक्षक कर्मचारी,जनप्रतिनिधीहरु लगायत सवैलाई हार्दिक धन्यवाद दिन चाहान्छु । आगामि दिनमा पनि सहयोगको अपेक्षा राखेको छु । यो कार्यकाल भित्र धुर्कोट गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने लक्ष्य रहेको छ