स्वतन्त्रतापछि नेपाल–भारत सम्बन्धका आयामहरू

प्रकाशित मिति:

संगीता रेग्मी
१५ अगस्त भारतका लागि पावन दिन हो । सन् १९४७ अगस्त १५ तारिखका दिन भारतले कठिन संघर्ष गरेर सयौं वर्षको अंग्रेजको शासनबाट मुक्ति पाएका थिए ।
भारतीय स्वतन्त्रता संग्राम वस्तुतः राष्ट्रिय एवम् क्षेत्रीय आह्वान, उत्तेजना एवम् प्रयत्नले प्रेरित, भारतीय राजनीतिक सङ्गठनहरूद्वारा सञ्चालित अहिंसावादी र सैन्यवादी आन्दोलन थियो, जसको एक समान उद्देश्य, अंग्रेजको शासनलाई भारतीय उपमहाद्वीपबाट जरैसित उखेल्नु थियो । यस आन्दोलनको शुरूवात १८५७ मा भएको सिपाही विद्रोह लाई मानिन्छ । स्वाधीनताका लागि हजारौं मानिसहरूले आफ्नो प्राणको बलि पनि दिए । भारतीय राष्ट्रिय कांग्रेसले सन् १९३० कांग्रेस अधिवेशनमा अंग्रेजहरूसँग पूर्ण स्वराजको माग गर्दै औपचारिक रूपमै अंग्रेजविरोधी आन्दोलन सुरू गरेका थिए ।
वास्तवमा भारतीय स्वतन्त्रता संग्राम एउटा त्यो जीवन क्रान्ति हो, जसको मूल्य र मान्यताले सदैव मानव सभ्यता र संस्कृतिलाई दिग्दर्शन गरिरहन्छ । नेपालको सन्दर्भमा यो एकदमै महत्वपूर्ण घटना हो किनभने नेपालका विभिन्न राजनीतिक आरोह र अवरोहमा यस क्रान्तिले दिशानिर्देश गरेको पाइन्छ । नेपालका राजनीतिक योद्धा बीपी कोइरालादेखि मनमोहन अधिकारीसम्मले यो महायज्ञमा आफ्नो योगदान गरेको कुरा स्वर्ण अक्षरले लेखिएको नै छ ।
स्वतन्त्रता र आत्मसम्मानको महान् कार्यमा दुवै देशका जनता सँगै अघि बढ्नु अपूर्व उदाहरणी हो र यसले दुवै देशमा लोकतन्त्र एउटा सार्वभौम मानव आकांक्षा, जनहित र जीवन पद्धति भएको चित्रण गरेको छ । भारतका प्रजातन्त्रिक संस्था र तिनको परिपक्वता र स्थायित्व नेपालका निम्ति पे्ररणादायी हो ।
नेपालमा प्रभाव
भारतीय स्वाधीनता आन्दोलनको नेतृत्व महात्मा गान्धीको हातमा पर्नासाथ उनले सन् सन् १९२१ मा अवज्ञा आन्दोलन र सन् १९३१ मा सत्याग्रह आन्दोलनलाई निकै प्रभावकारी बनाए । त्यसपछि सन् १९४२ को अगस्टमा अंग्रेज भारत छोडको नारा दिए । भारतका हजारौं हजार युवा जेल परेका थिए भने शहादत पाउनेको संख्या पनि हजारमा थियो । त्यसबेला भारतमा अध्ययनरत नेपाली युवाहरूले पनि खुलेर भारतीय स्वाधीनता संग्राममा भाग लिए किनभने भारतको स्वाधीनताबेगर नेपालमा कुनै परिवर्तन सम्भव थिएन । त्यस क्रममा पटनामा बीपी कोइराला र भद्रकाली मिश्र पक्राउ परे । वनारसमा गोपालप्रसाद भट्टराई, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, सूर्यप्रसाद उपाध्याय तथा लखनऊमा डिल्लीरमण रेग्मी आदि समातिएर जेल परेका थिए ।
त्यसभन्दा पूर्व नेपालको सन् १९५० को जनक्रान्तिमा रक्सौल क्याम्पको कमान्डर तथा तराई कांग्रेस र पछि नेपाल सद्भावना परिषद् तथा पार्टीको मूल संस्थापक रामजनम तिवारी सन् १९४१ मा कलकत्तामा दरोगाको पद छाडेर महात्मा गान्धीको आन्दोलनमा लागेका थिए ।
यस्तै नेपालको लोकतान्त्रिक आन्दोलनका महारथि गणेशमान सिंह कोलकाताामा आइएस्सी गर्दा महात्मा गान्धी, सुवाषचन्द्र वोस, जवाहरलाल नेहरू आदिका भाषण सुनेर भारतीय स्वाधीनता संग्राममा लागेका थिए ।
उता, भारतीय स्वाधीनता संग्रामका महान् योेद्धा जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, सुरजनारायण सिंह, कुमारी विजया पटवर्द्धन, सरदार सीताराम सिंह, शिवनन्दन मण्डल, डा. वैद्यनाथ झासमेतका क्रान्तिकारीहरू हजारीबाग जेल तोडेर नेपाल पसेका थिए । यी र यस्ता घटनाक्रमले भारतीय स्वतन्त्रता संग्राममा नेपालीहरूले महत्वपूर्ण योगदान गरेको पुष्टि हुन्छ ।
यस्तै भारतीय मित्रहरूको नेपालको लोकतान्त्रिक आन्दोलनमा प्राप्त योगदान महत्वपूर्ण छ । २००७ सालको जनक्रान्तिमा भारतीय समाजवादी दलका तीन सयभन्दा बढी कार्यकर्ताले विभिन्न मोर्चामा लडेका थिए । उनीहरूमध्येका डा. कुदलीप झा सप्तरीको कोशीको कुशहाघाटमा राणाको सैनिकसित मुठभेडमा मारिएका थिए भने सुरसण्डका विन्दाप्रसाद शाही जलेश्वर जेलमा थिए ।
नेपालमा प्रजातन्त्र पुनस्र्थापनाको संघर्ष तथा राजा ज्ञानेन्द्रको तानाशाहीविरूद्धको जनआन्दोलनमा पनि भारतीय नेताहरूको सहयोग बिर्सन सकिँदैन । नेपाल–भारतबीच हजारौँ वर्षपूर्व त्रेता युगमा श्रीराम सीताको विवाहदेखिको रक्त सम्बन्धले दुई देशबीचका जनतामा रहेको मैत्री सम्बन्ध कुनै पनि राजनीतिक षड्यन्त्रबाट खण्डित हुन सक्दैन ।
प्याजजस्तो पत्रपत्रमा गाँसिएको छ नेपाल र भारतको सम्बन्ध । भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक र सांस्कृतिक पत्रहरू यसका अवयवहरू हुन । जसरी प्याजका पत्रहरू एक अर्कामा खप्टिएका हुन्छन्, त्यसरी नै नेपाल र भारतको समबन्ध पनि खप्टिएको छ, जसलाई छुट्टयाउन वा अलग गर्न गाह्रो छ । प्याजको पत्रपत्रले भरिएको यहि सम्बन्धको अत्यधिक नजिकपनाले कहिलेकहीँ सुविधाको कारण बन्छ भने कहिलेकहीँ समस्याको जरो बन्छ । यो नै नेपाल–भारत समबन्धको विशेष सुन्दरता पनि हो र जटिलता पनि ।
पछिल्ला सात दशकमा नेपालमा कयौँ युगान्तकारी परिवर्तन भएका छन, जसमा भारतको परोक्ष वा प्रत्यक्ष संलग्नता रहेको छ । कतिपय अवस्थामा भारतको संलग्नतालाई सकारात्मक रूपमा हेरिएको छ भने कुनै बेला त्यहि संलग्नता ‘हस्तक्षेप’को रूपमा परिभाषित हुन्छ ।
नेपालको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको स्थापना र शान्तिका लागि भारतले गरेको सहयोग नेपालका लागि महत्वपूर्ण छर । नेपालमा आजसम्म भएका आन्दोलनहरू अधिकार प्राप्तिका लागि भएर । अब विकास र समृद्धिको चरण सुरू भएकाले यसमा पनि भारतीय सद्भाव, सहयोग र सहकार्य जरूरी छ ।
तसर्थ नेपाल र भारतबीचको सम्बन्धलाई थप पारस्परिक समझदारी, सम्मानित बनाउन एक अर्काका आकांक्षा र संवेदनशीलता बुझ्नु पर्छ । दुई देशबीच विविध क्षेत्रमा व्यापक सहयोगका साथै खुला सिमानाका कारण जनस्तरको सम्पर्कले आपसी सम्बन्धको गहिराई र गहनतालाई चित्रित गरे झैं अब सरकारी स्तरमा पनि सम्बन्धलाई थप प्रभावकारी बनाउनु पर्ने आवश्यक्ता छ । किनभने यसका लागि दुवै देशबीच सघन संवादमा बढोत्तरी तथा उच्चतम तहमा हुने राजनीतिक परामर्श र सम्पर्कले भरोसा र आत्मविश्वासका निम्ति मार्ग प्रशस्त गर्ने विश्वास गर्न सकिन्छ । (मधेश दर्पण फिचर सेवा)