गहिरो निद्राको लागी के गर्ने

प्रकाशित मिति:

स्वस्थ तन र मनका लागि मीठो र गहिरो निद्रा अपरिहार्य मानिन्छ । पर्याप्त निदाइएन भने डायबेटिज, डिप्रेसनजस्ता रोग लाग्नुको साथै वजन बढ्ने समस्या देखापर्न सक्छ । मीठो निद्राका लागि यी टिप्स उपयोगी हुन सक्छन्ः

‘हेभी डिनर’ नलिनुस्
डिनरमा हेभी खाना खाने गर्नुभएको छ र पेट डम्म हुनेगरी अघाउँजी खाने बानी बसाल्नुभएको छ भने आजैदेखि बानी सुधार्नुस् । तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना उपयुक्त मानिन्छन्, जसले मीठो निद्रा लगाउन मद्दत पुर्‍याउँछन् ।

तातो पानीले राति ननुहाउनुस्
दिनभरिको कामबाट राति घर फर्किएपछि तातो पानीले नुहाउने बानी छ भने बानी बदल्न ढिलो नगर्नुस् । किनकि, शरीर एक हदसम्म चिसो नभएसम्म मीठो निद्रा पर्दैन भन्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । नुहाउनैपरे पनि सुत्नुभन्दा केही घण्टाअगाडि नै नुहाउने बानी बसाल्नुस् ।

सुत्ने कोठामा मधुरो बत्ती राख्नुस्
चर्को प्रकाशमा बसेर सुत्न जाँदा निदाउन समय लाग्नसक्छ । तसर्थ बेडरुममा मधुरो प्रकाशको बन्दोबस्त गर्नुस् । जसले गर्दा मीठो निद्राका लागि आवश्यक मुड ओछ्यानमा पल्टिनुअघि नै बन्नपुग्छ ।

ओछ्यानमा मोबाइल नचलाउनुस्
ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउने बानी छ भने आजैदेखि आफूलाई बदल्नुस् । मोबाइल चलाउँदा तपाईं यसैमा अलमलिनुहुन्छ र निद्रा लाग्न पाउँदैन । साथै, सुत्दाखेरि मोबाइल अनिवार्य रूपमा साइलेन्स मोडमा राख्ने गर्नुस् ।

तालिका बनाउनुस्
सुत्ने र उठ्ने समयतालिका बनाउनुस् र यसलाई भरिसक्के पालना गर्नुस् । सधँै एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्न सक्नुभयो भने अनिद्राको समस्या बिस्तारै हट्दै जानेछ ।

सुत्नुअघि कसरत नगर्नुस्
कसरत गर्नु राम्रो हो, तर सुत्नुभन्दा ठीक अघि गर्नुचाहिँ राम्रो होइन । यसले शरीरमा रक्तसञ्चारलाई तीव्र गरिदिन्छ, जुन सामान्य अवस्थामा फर्किन समय लाग्छ । यसले तपाईंको निद्रालाई पर धकेल्ने गर्छ । त्यही भएर बेलुकाको कसरत र सुत्ने समयबीच चार घण्टाको ग्याप राख्नु राम्रो हु्न्छ ।

चुरोट छोड्नु्स्
चुरोट खाने बानी छ र निद्रा लाग्दैन भने चुरोट छोड्न ढिलो नगर्नुस् । चुरोट नखाने मानिस खानेहरूको तुलनामा चार गुणा बढी राम्रोसँग निदाउने गर्छन् भन्ने तथ्य अनुसन्धानबाट पुष्टि भइसकेको छ । चुरोटमा पाइने निकोटिनले गर्दा राम्रोसँग निदाउन सकिँदैन ।

सुत्नुअघि औषधि नखानुस्
प्रेसर, डिप्रेसन लगायतको औषधि नियमित सेवन गर्ने गर्नुभएको छ भने औषधि खाने समय र सुत्ने समयबीच केही घण्टाको अन्तर राख्ने कोसिस गर्नुस् । यस्ता औषधि खानासाथ सुत्न जानुभयो भने निदाउन समय लाग्छ ।

मनमा गुम्सिएका कुरा लेख्नुस्
मनोचिकित्सकका अनुसार निद्रा नलाग्ने समस्या भएका अधिकांश मानिसले मनमा अनेक कुरा खेल्ने भएकाले निद्रा नलाग्ने गरेको बताउने गरेका छन् । यस्तो समस्या भएकाहरूले मनमा गुम्सिएका कुरा सुत्नुअघि डायरीमा लेख्ने गरेमा निदाउन सहज हुने उनीहरूको सुझाव छ ।

कथा, संगीत सुन्नुस्
निद्रा लाग्दैन भने रेडियो, ल्यापटप, मोबाइलबाट मीठामीठा कथा, संगीत सुन्दै निदाउने बानी बसाल्नुस् । डाक्टरहरू निदाउने यो शैलीबाट धेरै मानिस लाभान्वित भइसकेको बताउँछन् ।

सकारात्मक सोच राख्नुस्
नराम्रो चिताउने र सोच्ने बानीले गर्दा पनि निदाउन समस्या पर्ने गरेको मनोचिकित्सकहरूको भनाइ छ । यसका लागि आफू र अरूको भलो चिताउने गर्नुस् । सुत्नुअघि आज राम्रा काम के–के गरियो र भोलि के–के राम्रा काम गर्न सकिन्छ भन्नेबारे विचार गर्नुस् । यसले तपाईंको मनलाई तनाव र छटपटीबाट मुक्त गराउँछ । यसको सीधा असर पर्छ निद्रामा ।

गहिरो सास लिने गर्नुस्
फुर्सदमा गहिरो र लामो सास फेर्ने गर्नुस् । यसले शरीरमा अक्सिजनको इन्टेक बढाउँछ, जसले गर्दा राति मीठो निद्रा पर्छ । गहिरो सास लिने गरेमा मुटुको धड्कन सन्तुलनमा आउने र रक्तचापका बिरामीलाई राम्रो हुने गर्छ । गहिरो सास लिँदा दिमागमा इन्डोर्फिन नामक रसायन उत्सर्जन हुन्छ, जसले तपाईंलाई तनावरहित बनाएर मीठोसँग निदाउने अवस्था सिर्जना गरिदिन्छ । गहिरो सास लिँदा पाँच सेकेन्डसम्म सास तान्ने, तीन सेकेन्ड थाम्ने र पाँच सेकेन्डसम्म सास फाल्ने गर्नुपर्छ । यो विधिलाई योगगुरुले मात्र नभई चिकित्सकहरूले पनि अनिद्रा भएका मानिसका लागि उपयोगी ठह¥याइसकेका छन् ।

खानपानमा ध्यान दिनुस्
मीठो निद्रा लगाउन माछा, दही, केरा, चना, प्याजजस्ता खाद्य पदार्थमध्ये कुनै एक वा एकभन्दा बढीलाई हरेक दिनको खानामा समावेश गर्ने कोसिस गर्नुस् ।

सुत्नुअघि पानी नपिउनुस्
कसै–कसैले सुत्नुअघि पानी पिउने बानी बसालेका हुन्छन् । यस्तो बानी आजैदेखि बदल्नुस् । किनकि, पानी पिएर सुत्न जाँदा राति पिसाब फेर्न उठ्नुपर्छ । यसरी निद्रा भंग हुन्छ । सुत्नुभन्दा एक अथवा दुई घण्टाअघि पानी पिउने गर्नुस् ।