कुकुर तिहार : पूर्वराजदूत झाको हत्यारा पत्ता लगाउने जोलीले पायो उत्कृष्ट प्रहरी कुकुरको अवार्ड

प्रकाशित मिति:

काठमाडौँ – पूर्वराजदूत केशव झाको हत्या भएको घटनामा प्रहरी चर्को आलोचना भइरहेको बेला घटनाका एक वर्षपछि एकाएक एउटा समाचार भाइरल भयो, ‘झाको हत्या गर्ने अभियुक्त भदौ २५ गते जेल चलान भए ।’ पूर्वराजदूत झाको २०७५ भदौ ३ गते आफ्नै निवासमा हत्या भएको थियो । निर्मला प्रकरणलगायत विभिन्न घटनामा धमिलिएको प्रहरीको छविलाई काठमाडौँ प्रहरीले पाएको ‘सफलता’ ले एकहदसम्म भएपनि बचायो । समाचार पढ्नेहरुले भने, ‘राजनीतिक दबावमा नपर्ने हो भने नेपाल प्रहरी सक्षम छ ।’

तर, झाको घटनामा प्रहरीले पाएको ‘सफलता’ मा एउटा जनावरको अहम भूमिका थियो भन्ने कमैलाई थाहा छ । त्यो हो प्रहरीको ‘जोली’ नामक कुकुर । घटनालगत्तै, डग स्कुलबाट खटाइएको ‘जोली’ नामक कुकुरको सहयोगमा अभियुक्तसम्म प्रहरी पुगेको थियो । झाकै घरमा सहयोगी रहेका सानुकान्छा तामाङसमक्ष जोली पुगेको थियो ।

अपराधीको खोजी तथा पहिचानमा अब्बल ब्लडहाउड जातको जोलीलाई घटनामा प्रयोग भएको चक्कु सुँघाइएको थियो । त्यसपछि जोलीले देखाएको ट्रयाकअनुसार प्रहरी अभियुक्तसम्म पुग्यो । हत्या, चोरी, डकैती, लुटपाट, अपहरण जस्ता आपराधिक घटनाको अनुसन्धानमा सघाएर जोलीले आफूलाई अब्बल सावित गरिसकेको छ । यही कारण नेपाल प्रहरीमा कुकुर स्कुल स्थापना भएको ५१ वर्षको अवसरमा जोलीले ‘बेस्ट डग अफ द एयर’ को सम्मान पाएको छ । यस्तै दौड प्रतियोगिता र हाइजम्पमा बेल्जियम सेफर्ड जातको रिया नामको कुकुर प्रथप भएको छ । अपराध अनुसन्धानका क्रममा प्रमुख सहयोगी मानिएको कुकुलाई प्रहरी प्रधान कार्यालय अन्तरगतको महाराजगञ्जस्थित कुकुर तालिम केन्द्रसहित देशभरका कार्यालयमा आइतबार पूजा गरिएको छ ।

केन्द्रीय कुकुर तालिम स्कुलमा तालिमप्राप्त कुकुरको विशेष पूजासहित कुकुरबाट विभिन्न स्टन्टसहितका कला प्रदर्शनी पनि गराइएको थियो । अहिलेको २१ औँ शताव्दीको तीब्र विकासको समयमा पनि विश्वभरका प्रहरीका लागि कुकुर गतिलो साथी बनिरहेको छ । केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल महाराजगन्जमा भएको विशेष कार्यक्रममा स्कुलका कुकरबीच गार्ड कम्पिटिसन, बाधापार, ट्रयाकर डगको काम तथा लागूऔषध डगको कामसहितको प्रदर्शनी पनि गरिएको थियो ।